समाचारशुक्रबार, भाद्र २५, २०७२
वार्तामा बस्दैनौं, दुई दिनको समय षडयन्त्र होः मधेशी मोर्चा
संयुक्त मधेशी मोर्चाका नेताहरुले तराई–मधेशबाट सेना ब्यारेकमा नफर्किएसम्म वार्तामा नबस्ने बताएका छन् ।
कपिलवस्तुको तौलिहवामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै मोर्चाका शीर्ष नेताहरुले प्रमुख दलहरुले गरेको वार्ता आह्वानलाई षडयन्त्र भएको बताएका छन् । उनीहरुले सरकारले विगतमा मधेशी मोर्चासँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने, सेना ब्यारेकमा फर्किनुपर्ने र प्रहरी दमन रोकेपछि मात्रै वार्तामा बस्ने बताएका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई दिन संविधानसभाको प्रक्रिया रोक्नुलाई नाटकको संज्ञा दिए । उनले भने, “दुईदिनमा केही हुनेवाला छैन, यो एउटा नाटक हो ।” उनले वार्ताको औचित्य नभएको बताए ।
तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले विगतको सम्झौता कार्यान्वयन भए वार्तामा बसिरहनु नपर्ने बताए । उनले भने, “विगतका सम्झौता कार्यान्वय नभए वार्ता गरिरहनै पर्दैन ।”
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकातिर गोली चलाइरहने र अर्काेतिर वार्ताका लागि आह्वानको कुनै औचित्य नभएको बताए । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महिन्द्रराय यादवले वार्ताका लागि दुईदिनको समय कम भएको बताए । उनले भने, “दुईदिन केही हुन सक्दैन, यो झुक्याउने खेल मात्रै हो ।”
आजै प्रमुख दलहरुले दुईदिनका लागि संविधान निर्माण प्रक्रिया रोकेर वार्ताका लागि मोर्चालाई आग्रह गरेका छन् ।
–गाेपाल भण्डारी, कपिलवस्तु