समाचारशनिबार, भाद्र २६, २०७२
अनौपचारिक छलफल भइरहेको छः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत दलहरुसँग अनौपचारिक कुराकानी भइरहेको बताएका छन् ।
उद्योग व्यवसाय सहज सञ्चालन गर्न मिल्ने वातावरणको माग गर्दै भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग २६ भदौमा कुरा गर्दै प्रधानमन्त्रीले असन्तुष्टहरुसँग औपचारिक संवाद हुन नसके पनि अनौपचारिक छलफल भइरहेको बताएका हुन् ।
कोइरालाले उद्योग व्यवसाय सहज सञ्चालन गर्ने वातावरण बनाउन सरकार प्रयासरत रहेको भन्दै आन्दोलनरत दलहरुसँग अनौपचारिक छलफल भइरहेको र केही दिनभित्रै समाधान निष्कने बताए ।
प्रधानमन्त्रीसँगको भेटमा मुलुकका अधिकांश भागमा लगातार एक महिनादेखि जारी बन्द हडताल, अशान्ति, जबर्जस्तीजस्ता क्रियाकलापले निजी क्षेत्र र नागरिक त्रसित भएको जानकारी गराएको महासङ्घका अध्यक्ष पशुपति मुरारकाले बताए ।
उनले निजी क्षेत्र उद्योगी, व्यवसायी र उद्योग प्रतिष्ठानमा आक्रमण, जबर्जस्ती र बढ्दो धम्कीका कारण उद्योग व्यवसाय चलाउन नसक्ने अवस्थाको सिर्जना भएको बताउँदै थपे, “पर्यटन उद्योग ठप्प छ, सरकार र बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने कर एवम् ऋणको किस्ता तिर्न सक्ने अवस्था छैन ।”
महासङ्घका अनुसार एक दिन बन्द हुँदा मुलुकलाई रु दुई अर्बको नोक्सानी हुने गरेको छ । सोही हिसाबअनुसार रु ६० अर्बभन्दा बढीको नोक्सानी भइसकेको छ ।
त्यसैगरी तेस्रो मुलुकबाट आयात गरिएका सामान लादिएका हजारौं कन्टेनर कलकत्ता बन्दरगाहमा रोकिएकाले दैनिक रु दश करोडभन्दा बढी भाडा र विलम्ब शुल्क नेपालले बेहोर्नु परिरहेको छ ।
उद्योग व्यवसाय चल्न नसक्दा करोडौँको कच्चा पदार्थसमेत नोक्सानी भएको तथा औद्योगिक करिडोरमा कार्यरत लाखौं मजदुरलाई ज्याला दिन नसक्ने अवस्था रहेको महासङ्घले जनाएको छ ।
उत्पादित निर्यातजन्य वस्तु भारत तथा तेस्रो मुलुक निर्यात गर्न नसक्दा थप नोक्सानी व्यर्होनु परेको छ ।
महासङ्घका अध्यक्ष मुरारका अनुसार स्वदेशी तथा विदेशी ‘पार्टी’को मागको समयावधि घर्कंदा विश्वास गुम्दै गएको छ ।
भेटका अवसरमा अर्थमन्त्री डा रामशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि र वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यको पनि सहभागिता थियो ।
रासस