समाचारशनिबार, भाद्र २६, २०७२

कञ्चनपुरदेखि चितवनसम्मको तराई तुलनात्मक रुपमा शान्त

हिमालखबर

मधेशी मोर्चा र थरुहट संघर्ष समितिको आमहड्तालका बीच पछिल्लो समय पश्चिमको कञ्चनपुरदेखि चितवनसम्मको क्षेत्र शान्त देखिएको छ ।


कञ्चनपुर

पश्चिम तराईको जिल्ला कञ्चनपुरमा पछिल्लो समय आह्वान गरिएका बन्द र आन्दोलनको कुनै असर परेको छैन । सदरमुकाम महेन्द्रनगर लगायत यहाँका बजार, विद्यालय, कलकारखाना सबै निर्वाध रुपमा चलिरहेका छन् । आन्दोलन, सभा र जुलुशको सास्ती पनि यहाँका वासिन्दाले खेप्नु परेको छैन ।

सहकर्मी बच्चु विकका अनुसार दक्षिणमा भारतसँग सीमा जोडिएकाले आयात गरेर ल्याउन पर्ने अत्यावश्यक सामानहरुको आपूर्तिमा पनि कुनै कमी छैन ।

कैलाली

७ भदौमा एसएसपी सहित ९ जनाको हत्या भएको टीकापुर घटनापछि विथोलिएको कैलाली विस्तारै सामान्य अवस्थामा फर्कने प्रयासमा छ । यद्यपी टीकापुर र धनगढीमा जारी कर्फयूले जनजीवन अस्तव्यस्त भएको छ ।

केही दिनदेखि धनगढीमा कर्फ्यूको समय घटाएर दिउँसो १२ बजेदेखि ३ बजेसम्म तीन घण्टामा झारिएको छ भने टीकापुरमा विहान ७ देखि १२ बजेसम्म मात्रै कर्फ्यूमा छुट दिइएको छ । कैलालीका विद्यालयहरु सञ्चालनमा आए पनि सबै विद्यालयहरु सञ्चालमा आउन सकेका छैनन् ।

पत्रकार दीर्घराज उपाध्यायका अनुसार टीकापुर र धनगढी बजार क्षेत्रका विद्यालयहरु सञ्चालमा ल्याइए पनि मुनुवा, थापापुर, दुर्गौली, जोशिपुर, नारायणपुर बेलुवा लगायतका क्षेत्रका विद्यालयहरु अझै खुल्न सकेका छैनन् ।

पक्राउ पर्ने डरले गाउँ छोडेका केही गाउँका थारु समुदायका युवा र बड्घर (गाउँका मुखिया) फर्कन सकेका छैनन् । थारु र पहाडी समुदायबीच अन्तरक्रिया र संवाद नहुँदा एकअर्का प्रतिको संशय अझै बाँकी छ ।

यद्यपी स्थानीय प्रशासन, अगुवाहरुको प्रयासमा त्यो संशयलाई मेटाउनका लागि विभिन्न कार्यक्रमहरु गरिन थालिएका छन् । नेपाली सेनाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ भने प्रहरीको सहयोगमा दुबै समुदायलाई संलग्न गराई २६ भदौमा रानीजमरा बाँध बाँध्ने काम गरिएको छ ।

टीकापुर र धनगढीमा औषधी र उपभोग्य सामानको अभाव भएको छ, बजार भाऊ चर्को भएको छ ।

बर्दीया
लामो समयको बन्दले जनजीवन असहज भएको जनगुनासो बढ्दै गएपछि २१ भदौदेखि २६ भदौसम्म बन्द फिर्ता लिएको थरुहट संघर्ष समितिले कैलालीका थारु नेता पक्राउको विरोधमा भन्दै २६ भदौदेखि नै फेरि बन्दको घोषणा गरेको छ ।

पत्रकार भावुक योगीका अनुसार आज जिल्लामा बन्दको प्रभाव न्यून देखिन्छ । सदरमुकाम गुलरीया र दक्षिणको बजार राजापुरलाई निषेधित क्षेत्र घोषणा गरिएकाले त्यहाँ प्रदर्शन भएको छैन, बजारहरु खुल्लै छन् । राजापुर जाने यातायातका साधनहरु भने सहज सञ्चालन हुन सकेका छैनन् ।

राजगमार्ग क्षेत्रमा पर्ने बाँसगढी, भुरीगाउँ लगायतका बजारहरु पूरै खुल्ला छन् भने यातायातका साधनहरु पनि सुचारु छन् ।

बन्दकर्ताहरुले बन्दका बेलामा पनि विद्यालय सञ्चलन गर्न दिइने जनाएका छन् ।

बाँके

बाँकेमा आन्दोलनकारीले प्रहार गरेको ढुंगाबाट मोटरसाइकल चलाइरहेका सर्वसाधारणको मृत्यु भएपछि बन्दको प्रभाव परेको छैन । २२ भदौदेखि बाँकेका नेपालगञ्ज, कोहलपुर लगायतका बजारहरु खुलेका छन् भने यातायात पनि सहज सञ्चालन भइरहेको छ ।

पत्रकार केशव रानाका अनुसार आज विहान कोहलपुर नजिकै मैटहवामा प्रदर्शनकारीले एउटा ट्रक, एउटा नगरबस र एउटा मोटरसाइकल तोडफोड गरेका थिए । त्यसपछि केही बेर प्रदर्शनकारी र प्रहरीबीच झडप भए पनि त्यसपछि कुनै प्रदर्शन भएको छैन ।

दाङ्
दाङको भित्रि उपत्यकाभित्रका घोराही, तुलसीपुर, नारायणपुर लगायतका बजारहरु खुल्लै छन् । ८ भदौदेखि नै यहाँका बजारहरु खुला भएका हुन् भने स्थानीय स्तरमा यातायात सुचारु छ । विद्यालयहरु खुलेका छन् ।

पत्रकार देविका घर्तीमगरका अनुसार दाङको देउखुरी क्षेत्रका लमही, भालुबाङ लगायतका बजारहरु भने बन्द छन् । त्यहाँ शैक्षिक संस्था र यातायात समेत ठप्प छन् । यद्यपी देउखुरी क्षेत्रका विद्यालयहरु पनि २७ भदौदेखि सञ्चालन गर्न शिक्षा सम्बन्धी संस्था र आन्दोलनकारीबीच सहमति भएको छ ।

लामो दुरीका सवारी साधनहरुलाई सुरक्षाकर्मीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाउने गरेका छन् । दाङमा अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन ।

कपिलवस्तु
कपिलबस्तुको सदरमुकाम तौलिहवा र कृष्णनगर क्षेत्रमा करिब एक महिनादेखि जारी बन्दले जनजीवन अस्तव्यस्त बनाएको छ । यसक्षेत्रका विद्यालय, कलकारखाना र यातायात ठप्प छन् । राजमार्गमा पर्ने चन्द्रौटा बजारमा भने बन्दको आंशिक प्रभाव परेको छ ।

यसैगरी गोरुसिंगे, इमिलिया लगायतका बजारहरु पूरै खुला छन् भने त्यसक्षेत्रका विद्यालयहरु समेत सञ्चालनमा छन् ।

पत्रकार गोपाल भण्डारीका अनुसार कपिलवस्तुमा सदरमुकाम तौलिहवाको निषेधित क्षेत्र बाहिर शान्तिपूर्ण प्रदर्शन भने भइरहेको छ । मधेशी मोर्चाका तर्फबाट आन्दोलनको नेतृत्व गरिरहेका तमलोपाका नेता वृजेशकुमार गुप्ता आन्दोलन आफ्नो नियन्त्रणमा रहेको भन्दै हिंसात्मक बन्न नदिने बताउँछन् ।

नवलपरासी
नवलपरासीको सदरमुकाम परासी सहित दक्षिणका बजारहरु करिब एक महिनादेखि बन्द छन् भने यातायाता, विद्यालय र काराखानाहरु पनि ठप्प छन् । तर, राजमार्ग क्षेत्रका बजार, विद्यालय र यातायात खुला छन् । यो अवधिमा नवलपरासीमा ठूलो घटना भएको छैन ।

चितवन
चितवनमा बन्दको कुनै प्रभाव परेको छैन । यहाँका यातायात, विद्यालय, पसल, बजार सबै खुल्ला छन् । जनजीवन सहज छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>