थप समाचारशनिबार, भाद्र २६, २०७२
भूकम्पप्रभावितका लागि १८ करोडको परियोजना
भूकम्प प्रभावितको राहत र पुर्नस्थापनाका लागि नेपाल अर्थक्वेक रिकोभरी प्रोजेक्ट (एनइआरपी) शुरु गरिएको छ ।
नेपालस्थित एक्ट अलायन्सका सदस्य गैरसरकारी संस्थाहरु ( डान चर्च एड, क्रिश्चियन एड, लुथरन वल्र्ड फेडेरेसन र आइसीसीओ) को पहलमा यो परियोजना थालिएको हो ।
मे २०१६ सम्म चल्ने परियोजनाको कुल बजेट १.५ मिलियन युरो (रु. १८ करोड १० लाख ९० हजार २२७) रहेको छ ।
युरोपेली कमिसन ह्युमानिटेरियन एड एण्ड सिभिल प्रोटेक्सन (इसीएचओ) को मुख्य सहयोगमा सञ्चालित यो परियोजनाले एक्ट अलायन्सको एकीकृत आश्रयस्थल अवधारणा अन्तर्गत रही काम गर्नेछ ।
डान चर्च एडकी रिता जैसवाल ढकालका अनुसार परियोजनाले भूकम्पअति प्रभावित सिन्धुपाल्चोक, धादिङ, रसुवा र मकवानपुरका १४ गाविसका १६ हजार नौ सय ४० मा पुग्ने लक्ष्य लिएको छ ।
परियोजनाले यसअघि भूकम्पप्रभावितलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यले मोबाइल फोन प्रविधिको प्रयोग गरि नगद सहयोग पनि प्रदान गरिसकेको उनले बताइन ।
यसअतिरिक्त परियोजनाले प्रभावितका लागि सुरक्षित आश्रयस्थल, शौचालय, खानेपानी लगायत सरसफाइका अन्य क्षेत्रमा पनि ध्यान दिने बताइएको छ ।
नेपालमा १२ वैशाखमा गएको भूकम्पमा ८८९० जनाको मृत्यु भएको थियो भने लाखौं बेघर भएका थिए ।