समाचारमंगलबार, भाद्र २९, २०७२
झापाः चार बिष्फोट, असईसहित दुई प्रहरी घाइते
चर्चमा राखिएको बम प्रहरी कार्यालयमा ल्याएपछि बिष्फोट हुँदा इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी सहायक निरीक्षक देवनाथ यादव र जवान केदार पौडेल घाइते भएका छन् ।
झापा सुरुंगा–३ स्थित एक चर्चमा २९ भदौ विहान सकेट बम भेटिएको खबर पाएर त्यहाँ पुगेका प्रहरीले बम निक्रिय रहेको ठानी इप्रका सुरुंगा ल्याएका थिए । कार्यालय ल्याइएको करिब एक घण्टामा बम अचानक पडकिँदा सहायक निरीक्षक यादव र जवान पौडेल घाइते भएका हुन् ।
विर्तामोडमा उपचार गराईरहेका उनीहरुको अवस्था खतरामुक्त छ ।
यसैगरी २८ भदौ राति पश्चिम झापाका दुई ठाँउका चर्चमा तीनवटा बम बिष्फोट भएको छ ।
राति करिब ११ः३० बजे दमक १० स्थित ज्योती चर्चको प्रवेशद्वार र चर्चको प्रार्थनाभवन बाहिर सकेट बम बिष्फोट हुँदा चर्चको झ्यालका सिसा फुट्नका साथै भवनमा समेत क्षति पुगेको छ ।
यसैगरि झापाको सिमावर्ती खजुरगाछी गाविस– ९ को इमानुयल चर्चमा पनि राति सवा ११ बजे बम बिष्फोट भएको इलाका प्रहरी कार्यालय खजुरगाछीका प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए ।
बम बिष्फोट भएका दमक र खजुरगाछीका चर्चमा ‘हिन्दु मोर्चा नेपाल’ नामका पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
गोपाल गडतौला, झापा