समाचारमंगलबार, भाद्र २९, २०७२
संविधान निर्माणः भारतद्वारा स्वागत (पूर्णपाठ सहित)
भारतले संविधान निर्माण प्रक्रियामा भएको प्रगतिको स्वागत गर्दै नेपाली नेतृत्वको प्रशंसा गरेको छ ।
भारतीय विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा संविधान निर्माणकै क्रममा कैयौं विवादित मुद्दाहरुको समाधान भइसकेको र नयाँ संविधानले शान्तिपूर्ण र सम्पन्न नेपालको सुदृढ आधारशिला स्थापना गर्ने अपेक्षा समेत गरेको छ ।
त्यसैगरी हालै नेपालका विभिन्न स्थानमा जारी आन्दोलन हिंसात्मक हुँदै गएकोमा पनि भारतले चिन्ता व्यक्त गर्दै भूकम्पको त्रासदीबाट पार नपाउँदै नेपालमा यस्तो घटना हुँदा कुनै पनि मानवतावादी देशलाई चोट पुग्ने बताइएको छ ।
भारतीय परराष्ट्रमन्त्रालयको विज्ञप्तिको अनुवाद
भारत सँधै नेपालमा शान्ति, स्थिरता, एकता तथा विकासको समर्थन गर्दछ । गत दुई दशकदेखि हामी नेपालमा हिंसा, अस्थिरता, आन्तरिक संघर्ष तथा राजनीतिक कलह र यसका नकारात्मक परिणामको साक्षी बनेका छौं । यी संकटहरुबाट पार नपाउँदै वैशाख २०७२ मा गएको भूकम्पले नोक्सान र महाविनाशको स्थिति उत्पन्न गरायो ।
संकट चाहे त्यो राजनीतिक होस् वा प्राकृतिक भारत सरकारले सँधै नेपालको समृद्धि तथा कल्याण चाहेको छ । र जस्तोसुकै प्रतिकुल परिस्थितिमा नेपाललाई सघाउनु आफ्नो कर्तव्य ठान्दछ ।
विगत केही महिनादेखि नेपालको राजनीतिक नेतृत्व आपसी परामर्श र संवादबाट संविधान निर्माणको अत्यन्त महत्वपूर्ण काम गरिरहेको छ ।
नयाँ बन्ने संविधानले सबै क्षेत्र र वर्गलाई मिलाई नेपालको उज्जवल भविष्यलाई केन्द्र विन्दुमा राखेर प्रगतिशील, आधुनिक र संगठित नेपालको निर्माण गर्नेछ भन्ने उत्साहजनक आवाज त्यहाँका नेताहरुबाट हामीले सुनेका थियौं । सबै राजनीतिक नेताहरुको यो स्वरले भारतमा सबैलाई प्रसन्नता दिएको पनि होे ।
नेपालको राजनीतिक नेतृत्वले गत वर्ष बुद्धिमता र परिपक्वताका साथ यस्तै चुनौतिको सामान गरेको थियो जसको परिणामस्वरुप शान्ति प्रक्रियाको प्रारम्भ तथा सफल निर्वाचनको माध्यमबाट समावेशी बहुदलीय संवैधानिक लोकतन्त्र सुद्धृढ बनाउनमा प्रशस्तै सफलता पनि प्राप्त भयो । शान्ति प्रक्रियामा नेपालले प्राप्त गरेका उपलब्धिहरुको हामी सराहना गर्दछौं ।
हामी संविधानको अनुमोदन र संविधानसभामा हालै भएको प्रगतिको स्वागत र प्रशंसा गर्दछौं । किनभने यसै प्रक्रियाबाट नै कैयन विवादित मुद्दाहरुको समाधान गरिसकिएको छ ।
भारत नेपालका केही स्थानहरुमा चलिरहेको आन्दोलन र संघर्षबाट चिन्तित् छ । भयंकर हिंसाले फेरि एकपटक नेपालको आत्मालाई हल्लाइदिएको छ । मृत्यु हुनेहरु नेपाली नागरिक होउन या सरकारी कर्मचारी, सबै घटनाहरुमा बगेको रगत नेपाली कै हो । भूकम्पको ठूलो त्रासदीबाट पार नपाउँदै फेरि यस्तो गम्भीर स्थिति उत्पन्न हुँदा संसारको कुनै पनि मानवतावादी देशलाई चोट पुर्याउँछ ।
यसै परिप्रेक्ष्यमा हामी सबै राजनीतिक पक्षहरुलाई बाँकी मुद्दाहरुको समाधान यथासम्भव सहमति र हिंसामुक्त परिवेशमा गर्नका लागि लचिलो बन्न अपील गर्दछौं । नेपालका अलग अलग क्षेत्रहरुमा तथा समाजका सबै वर्गहरुलाई पूर्ण स्वीकार्य तथा उनीहरुका आकांक्षाहरुको सम्बोधन गर्ने संविधान शान्तिपूर्ण र सम्पन्न नेपालको सुदृढ आधारशिला स्थापना गर्ने छ तथा नेपालको उज्जवल भविष्यको केन्द्रविन्दु बन्ने आधारशिला स्थापना गर्ने छ तथा नेपालको उज्जव भविष्यको केन्द्रविन्दु बन्नेछ ।
नेपालका राजनीतिक दल, संगठन तथा बुद्धिजीवी वर्गले संकटका बेला सँधै दुरदर्शिता देखाएका छन् । उनीहरुको सतत् नेतृत्व तथा बुद्धिमत्ताका कारण नै नेपालले वर्तमान अप्ठ्यारामाथि विजय प्राप्त गर्न सकेको हो । आधुनिक नेपालको निर्माणका लागि स्थायी एवम् बलियो संविधान आवश्यक छ र हामी नेपाली नेतृत्वले यस सम्बन्धमा कुनै कसर बाँकी राख्ने छैन भन्ने आशा गर्दछौं ।
भारत सरकार नेपालको सरकार तथा त्यहाँका नागरिकसँगको उत्साहपूर्ण एवम् हार्दिक संवन्धलाई अरु सुदृढ बनाउन प्रतिवद्ध छ र नेपाली जनताको आकांक्षा अनुरुप शान्ति, स्थिरता तथा सामाजिक–आर्थिक विकासका लागि सबै प्रकारका सहयोग सँधै गरिरहनेछ ।