समाचारमंगलबार, भाद्र २९, २०७२
लोकतन्त्र र आर्थिक विकासका लागि संविधानः अमेरिका
संयुक्त राज्य अमेरिकाले नेपालमा संविधान निर्माण प्रक्रिया अन्तिम अवस्थामा पुग्दै गर्दा आफूले रुचिपूर्वक हेरिरहेको जनाएको छ ।
नेपालमा संक्रमणकालको अन्त्य गर्दै लोकतन्त्र र आर्थिक विकासलाई दिगो बनाउने संविधान निर्माणको यो प्रक्रिया अत्यन्त महत्वपूर्ण रहेको अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता जोन किरबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधानसभामा हाल भइरहेको मतदानबाट सिर्जनशिलता, समावेशी र औदार्यलाई सम्वर्धन गर्दै शान्त र समृद्ध नेपाल बनाउने दस्तावेजको उदय हुने पनि विज्ञप्तिमा विश्वास गरिएको छ । त्यस्तै नयाँ संविधानले आधारभूत स्वतन्त्रता, लैंगिक समानता जस्ता मौलिक अधिकारको सम्मान गर्दै संभवभएसम्म धेरैका लागि स्वीकार्य हुने पनि किरबीको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकाले सबै नेपाली नागरिकलाई शान्तिपूर्ण, हिंसारहित माध्यममा संलग्न रहन र सुरक्षाकर्मीलाई प्रदर्शनकारीसँग संयमित व्यवहार गर्न पनि आग्रह गरेको छ ।