समाचारमंगलबार, भाद्र २९, २०७२
तमलोपाका सहमहामन्त्री सोनल पक्राउ
बारा प्रहरीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवम् तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल र तमलोपा बाराका अध्यक्ष नवल किशोर सिंहलाई पक्राउ गरेको छ ।
वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरु बन्द गराउँदै हिडेको अवस्थामा उनीहरुलाई बाराको जितपुरबाट पक्राउ गरिएको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।
उनीहरु मोटरसाईकल र्याली निकाल्दै करिडोरमा खुलेको उद्योग बन्द गराउन हिँडेका थिए । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले एउटा ट्रकमा आगजनी, ३ वटा उद्योगहरुमा तोडफोड र आधा दर्जन सवारी साधनमा तोडफोड गर्ने समूहको नेतृत्व गर्दै हिडेकोले सोनल र सिंहलाई पक्रेको बताए ।
यसैबीच, जितपुरबाट मोर्चाका नेताकार्यकर्ताहरुको मोटरसाईकल र्याली फर्कने क्रममा नितनपुरमा प्रहरीसँग झडप हुँदा १२ जना घाईते भएका छन् ।
प्रहरीको लाठी प्रहारबाट घाइते हुनेहरुमा उमेश साह, विन्दु साह, राधाकृष्ण रौनियार, अच्छेलाल यादव, सञ्जु साह, राजकुमार पासवान लगायत छन् ।
उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चारैतिरबाट घेरेर लाठी प्रहार गरेको मोर्चाका नेता कार्यकर्ताहरुले बताएका छन् ।
-सुरेश बिडारी, वीरगञ्ज