व्यक्तित्वआइतबार, मंसिर ३, २०६९
गाउँमै सबथोक
६०–७० वर्षअघिसम्म खोटाङमा चलनै नभएको अलैँची र चिया लगाउन शुरु गर्दा आइलागेको आपत् सम्झ्ँदै पर्खनबहादुर भन्छन्, “भोजपुर गोश्वाराको डोरले समाएर लग्यो । बडाहाकिम भक्तबहादुर खड्काले ‘आफूखुसी विकास ल्याउन खोज्ने तिमी राजा हौ कि रैती’ भन्दै सातो टिपे ।” त्यसपछि उनलाई एक दिन भटमास कुट्न लगाएर ‘अब उप्रान्त अलैँची र चिया खेती नगर्ने, ६ बोटभन्दा बढी अरू रूखबिरुवा पनि नरोप्ने, माछापोखरी र २२ धारा भत्काउने’ कागज गराएर छाडियो । “धन्न हात काटिएन, झयालखानामा बस्नु परेन”, राई भन्छन् ।
नौ दिदीमुनिका एक्लो भाइ उनी १९९९ सालतिर नुन खेप्न मधेश झ्र्दा भान्जा कृष्णबहादुरसँगै छाउनीको बाटो लागिसकेका थिए । तर, एक्लो सालो भएकैले उनलाई भिनाजु अम्बरबहादुरले गल्लावालबाट खोसेर घर फर्काएका थिए । तीन वर्षपछि भाञ्जा सात बीस कम्पनी ९भारु १४०० बोकेर आउँदा उनीसँग खेतीपातीबाट केही गर्छु भन्ने अठोट मात्र थियो । समय बित्दै जाँदा सात साल आयो । उनले खाम्लाको भीरबाट अम्रिसो ल्याए, रातभर कुलो खनेर फेरि अलैँची र चिया रोप्न थालेँ ।
सदरमुकाम दिक्तेलबाट ६ घण्टा पूर्वको गाउँमा अनवरत पौरख गरिरहेका पर्खनबहादुर राईमा २०३० सालपछि सरकारको पनि आँखा पर्न थाल्यो । कृषि विकास ब्याङ्क दिक्तेलले २०३२ मा नमुना खेतीका लागि रु.८ हजार ऋण दियो । २०५२ मा कृषि कार्यालयले अलैँचीका बिरुवा दिन लाग्दा उनी आफैँ अन्यत्रभन्दा सस्तोमा बिरुवा बेचिरहेका थिए । २०६३ मा कृषि मन्त्रालयले ‘अलैँचीका पिता’ भन्दै पुरस्कृत र २०६५ मा जिविसले अभिनन्दन गरयो । मन्त्रालयकै सहयोगमा २०४४ मा काठमाडौं, चितवन, पोखरा, जनकपुर, हेटौँडा र वीरगञ्जका कृषि फारम घुमेका राईलाई भारत, जापान र थाइल्यान्ड भ्रमणको अवसर पनि मिलेको थियो, तर जीवनसँगिनी पञ्चहीराको मृत्यु भएकाले गएनन् । अब उनलाई कतै जानु छैन । भन्छन्, “देश–विदेशका दाजुभाइ नै म बूढालाई भेट्न आउँछन् ।”
पर्खनबहादुरले अब बाबुबाजेको पाराले चल्दैन भन्ने बुझ्ेर बेलैमा खेतीपातीका नयाँ तौरतरिका अपनाएका थिए । उनी आफैँले जोडेको ३०० रोपनी जमिनमा अहिले सुन्तला, नासपाती, आरू, हलुवाबेत, अलैँची, अम्रिसो, अदुवा र चियाको बगान छ । बोहोरी, गोगुन, ध्वतिसरा, निभारो र नेपिएर घाँस अनि लप्सी, ओखर, फलाँट, हात्तीपाइले, सल्ला आदिले पाखो ढाकेका छन् । उनको अलैँची बारी देश–विदेशका किसान, विद्यार्थीको अध्ययन थलो बनेको छ । जिल्ला कृषि कार्यालयका अनुसार उनी नै खोटाङमा सबभन्दा धेरै अलैँची फलाउने कृषक हुन् । बैंसमा सिङ्गो खोटाङको लेक डुलेका उनी जिल्लामा पशुपालन र चियाको ठूलो सम्भावना देख्छन् । उनी भर्खर–भर्खर कच्ची सडकले छोएको खोटाङलाई अन्न, फलपूmल, तरकारी, जडीबुटी र नगदेबालीको भण्डार भन्दै सरकारलाई यसमा ध्यान दिन आग्रह गर्छन् । “जनताले चाहिँ जाँगर चलाउनुपर्छ”, उनी भन्छन्, “हाम्रो गाउँबेंसीमै सबथोक छ भन्ने कुरा अचेलका भाइछोराले बुझनुपर्छ ।”
खोटाङ, भोजपुर, सोलुखुम्बु र उदयपुर क्षेत्रमा हरियाली खेती प्रणालीका अग्रणी पर्खनबहादुर राई यतिका वर्ष आफूले खेती होइन ‘सृष्टि’ गरेको ठान्छन् र उनलाई आफ्नो सृष्टि नासिएला भन्ने चिन्ता पनि छैन । किनकि, पूर्वी पहाडमा उनको सिको गर्ने कृषकहरूको सङ्ख्या बढ्दो छ, आफ्नै दुई छोरा बाबुको बिँडो थाम्न तयार छन् ।
-दमन राई, खोटाङ