समाचारमंगलबार, भाद्र २९, २०७२
बेथरीमा प्रहरीको गोलीबाट बालकको मृत्यु, पाँच गम्भीर घाइते
रुपन्देहीको भैरहवा—लुम्बिनी खण्डमा पर्ने बेथरीमा आन्दोलनकारी मधेशी मोर्चा र प्रहरीबिच झडप हुँदा प्रहरीले चलाएको गोलीबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।
प्रहरीले स्कर्टिङ गरिरहेका मालबाहक सवारी साधनमाथि आन्दोलनकारीले आक्रमण गरेपछि झडप भएको र त्यसैक्रममा प्रहरीले प्रहार गरेको गोली स्थानीय ४ वर्षीय बालक चन्दन कुमार पटेललाई लागेर उनको मृत्यु भएको हो ।
झडपमा थप दुई जनाको ज्यान गएको स्थानीयले बताए पनि प्रहरीले पुष्टि गरेको छैन ।
लुम्बिनी प्रहरी प्रमुख गणेश केसीले झडपमा गम्भीर घाइते भएका पाँच जनाकोे भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ साईन्सेजमा उपचार भैरहेको बताए ।
लुम्बिनी करिडोरबाट सामान लोड गरेका ट्रकलाई सुरक्षा प्रदान गरेको प्रहरी र बन्दकर्ता मधेशी मोर्चाबीच झडप भएको थियो ।
रुपन्देहीका प्रहरी प्रमुख राजेन्द्रप्रसाद ढकालका अनुसार आन्दोलनकारीहरुले प्रहरीका दुई गाडी र समान ढुवानी गरिरहेका दुई गाडीमा आक्रमण गर्दै घरेलु हतियार र ढुंगा मुडा लिएर आक्रमण थालेपछि प्रहरीले कार्वाही चलाएको थियो ।
आन्दोलनकारीको तोडफोडबाट प्रहरीका २ वटा गाडी र २ वटा मालबाहक ट्रकमा क्षति पुगेको छ । सामान्य बल प्रयोगबाट पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको रुपन्देही प्रहरी प्रमुख ढकालले बताए ।
सो कोरिडोरलाई आन्दोलनकारीहरुले निशाना बनाईरहेकाछन् । २४ र २५ भदौमा उनीहरुले सोही कोरिडोरमा उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको अर्घाखांची सिमेन्ट उद्योग लगायत सात उद्योगमा तोडफोड गरेका थिए ।
२३ भदौमा उद्योग वाणीज्य महासंघको केन्द्रिय नेतृत्व र मोर्चाको शीर्ष नेतृत्वबिच भैरहवामै भएको छलफलमा उद्योगीहरुले बन्द फिर्ता गरी वार्तामा बस्न आग्रह गरेका थिए । त्यसयता आन्दोलनकारीहरुले उनीहरुकै उद्योगहरुलाई निशाना बनाईरहेको उद्योगीहरुले बताए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । भैरहवा वरपर पूर्वमा वसन्तपूरको बाइपास, पश्चिम विमानस्थल नजिक मायादेवी चोक, उत्तर विद्युत कार्यालय र दक्षिण बेलहिया बाइपास सडकसम्मको क्षेत्रमा आज राति ८ बजेदेखि ३१ भदौ सम्मका लागि कफर््यू आदेश जारी गरिएको जिप्रकाले जनाएको छ ।
दीपक ज्ञवाली,बुटवल