समाचारबुधबार, भाद्र ३०, २०७२

बेथरीमा प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएको पुष्टि

हिमालखबर

रुपन्देहीको भैरहवा—लुम्बिनी खण्डमा पर्ने बेथरीमा २९ भदौ राति प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रहरीले स्कर्टिङ गरिरहेका मालबाहक सवारी साधनमाथि आन्दोलनकारीले आक्रमण गरेपछि झडप भएको र त्यसैक्रममा प्रहरीले प्रहार गरेको गोली लागि स्थानीय ४ वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख राजेन्द्र ढकालले पुष्टि गरे ।

घटनास्थल नजिकै हाटबजार लागेकाले हाटबाट फर्किंदै गरेकालाई प्रहरीको गोली लागेको स्थानीयले बताएका छन् ।

मृत्यु हुनेहरुमा चार वर्षीय बालक चन्दनकुमार पटेल, गोनाहा–६ का ४५ वर्षीय विनोद लाकौल, सिलौटिया– ८ की १४ वर्षीया रेजना सिंह र गोनाहा– ४ बेथरीका ४० वर्षीय राजकुमार बरई छन्।

लुम्बिनी करिडोरबाट सामान लोड गरेका ट्रकलाई सुरक्षा प्रदान गरेको प्रहरी र बन्दकर्ता मधेशी मोर्चाबीच झडप भएको थियो ।

एसपी ढकालका अनुसार आन्दोलनकारीहरुले प्रहरीका दुई गाडी र समान ढुवानी गरिरहेका दुई गाडीमा आक्रमण गर्दै घरेलु हतियार र ढुंगा मुढासहित आक्रमण थालेपछि प्रहरीले फायर गरेको थियो ।

उनका अनुसार १६० वटा गाडीलाई स्कर्टिङ गरिरहेको प्रहरीमाथि प्रदर्शनकारीले एक्कासी घरेलु हतियार सहित आक्रमण गरेका थिए । आन्दोलनकारीको तोडफोडबाट प्रहरीका २ वटा गाडी र २ वटा मालबाहक ट्रकमा क्षति पुगेको छ ।

२४ र २५ भदौमा प्रदर्शनकारीहरुले सोही कोरिडोरमा उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको अर्घाखांची सिमेन्ट उद्योग लगायत सात उद्योगमा तोडफोड गरेका थिए ।

२३ भदौमा उद्योग वाणिज्य महासंघको केन्द्रीय नेतृत्व र मोर्चाको शीर्ष नेतृत्वबीच भैरहवामै भएको छलफलमा उद्योगीहरुले बन्द फिर्ता गरी वार्तामा बस्न आग्रह गरेका थिए ।

त्यसयता आन्दोलनकारीहरुले उनीहरुकै उद्योगहरुलाई निशाना बनाईरहेको उद्योगीहरुले बताए ।

यसैबीच जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

भैरहवा वरपर पूर्वमा वसन्तपूरको बाइपास, पश्चिम विमानस्थल नजिक मायादेवी चोक, उत्तर विद्युत कार्यालय र दक्षिण बेलहिया बाइपास सडकसम्मको क्षेत्रमा आज राति ८ बजेदेखि ३१ भदौ सम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जिप्रकाले जनाएको छ ।
दीपक ज्ञवाली,बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>