समाचारबुधबार, भाद्र ३०, २०७२

संविधानसभा बैठक एक घण्टाका लागि स्थगित, २५५ धारा पारित

हिमालखबर

२७ भदौ साँझबाट मतदान प्रक्रिया शुरु भएको संविधानसभा बैठकले आज, ३० भदौ दिउँसोसम्म संविधानको विधेयकका २५५ वटा धारा पारित गरिसकेको छ ।

३० भदौ विहान १०ः३० बजेबाट शुरु भएको बैठकले २५५ वटा धारा पारित भइसकेपछि एक घण्टाका लागि स्थगित गरिएको छ ।

संभवतः संविधानको विधेयक–२०७२ आजै संविधानसभाबाट पारित हुनेछ ।

यसरी जारी हुनेछ संविधान
संविधान लेखनका अन्य सबै चरण पूरा गरी ३ असोजमा नयाँ संविधान घोषणा हुने कार्यक्रम तय भएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको संविधानमा सबै सभासद्को हस्ताक्षरपछि सभाध्यक्षले प्रमाणीकरण गर्ने र ३ असोज अपराह्न ५ बजे विशेष समारोहका बीच राष्ट्रपतिले नयाँ संविधान जारी भएको घोषणा गर्ने कार्यक्रम संविधानसभा सचिवालयले तय गरेको छ ।

संविधानसभा नियमावलीअनुसार परिमार्जित विधेयकमाथिको छलफलपछि संविधानका सबै धारा र अनुसूची निर्णायार्थ प्रस्तुत गर्नुपर्छ ।

छलफल पूरा गरेपछि संविधानका प्रस्तावना, नाम, प्रारम्भ र अनुसूचीलाई नेपालको संविधान, २०७२ विधेयकको अङ्ग बनोस् भनेर मत विभाजन गरिने नेपाली काँग्रेसका राधेश्याम अधिकारीले बताए ।

सभासद् अधिकारीका अनुसार संविधानलाई दुई तिहाई मतले पारित गरेपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापतिको सभापतित्वमा गठित समितिले शुद्धाशुद्धि र भाषा हेर्नेछ ।

त्यसपछि नेपाली कागजका छापिएका संविधानका पाँचप्रति सबैमा सबै सभासद्ले हस्ताक्षर गरेपछि संविधानसभा अध्यक्षले प्रमाणीकरण गर्नेछन् ।

पाँच वटै कापीको एउटै ढाँचामा राष्ट्रपतिले हस्ताक्षर गरी लागु भएको घोषणा गरिने नियमावलीको प्रावधान छ ।

राष्ट्रपतिले संविधान सार्वजनिक गरेपछि नेपालको अन्तरिम संविधान, २०६३ खारेज भई त्यतिखेरदेखि नै नयाँ संविधान जारी हुन्छ ।

सोही समारोहमा नेपालको संविधान नेपाली जनता समक्ष प्रारम्भ भएको घोषणा गर्ने व्यवस्था रहेको छ ।

संविधानसभामा ६०१ मध्ये हाल कायम ५९८ सभासद् छन् । परिमार्जित विधेयकको दफावारमा छलफलमा ५३८ ९९१ प्रतिशत० सभासद्ले भाग लिइरहेका छन् ।

नेकपा एमालेका रवीन्द्र अधिकारीले संविधानका प्रत्येक धारा ध्वनिमतले पारित गर्ने क्रम सकिएपछि सिङ्गो संविधानलाई मत विभाजन गरेर सबै सभासद्ले हस्ताक्षर गर्ने बताए ।

हाल छलफलमा प्रमुख दल कांग्रेस, एमाले, एमाओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत अन्य साना दल पनि सहभागी छन् भने मधेशकेन्द्रित सबै दल सीमाङ्कनको विषयमा असन्तुष्टि जनाउँदै प्रक्रियाबाट बाहिरिएका छन् ।

संविधान जारी भइसकेपछि पनि आन्दोलनरत दलका माग संविधान संशोधन गरेर सम्बोधन गरिने प्रतिबद्धनता प्रमुख दलका शीर्ष नेताले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>