समाचारबुधबार, भाद्र ३०, २०७२

अपडेट: बेथरी झडप, गोली लागेकामध्ये धेरै हाटबजार गएकाहरु

हिमालखबर

andolankari

बेथरी घटनाका घाइते अस्पतालमा । तस्वीर: दीपक ज्ञवाली

रुपन्देहीको भैरहवा—लुम्बिनी औद्योगिक कोरिडर खण्डमा पर्ने बेथरीमा २९ भदौमा प्रहरीको गोली लागि चार जनाको मृत्यु भएपछि थप हिंसा बढ्न नदिन उच्च सुरक्षा सतर्कता अपनाईएको प्रहरीले जनाएको छ ।

२९ भदौ साँझ बेथरीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ४ वर्षीय बालक चन्दन कुमार पटेलसँगै, रुपन्देही गोनाहाका ३५ वर्षीय बिन्दू लाकौल, १४ वर्षीया रञ्जना क्षेत्री र ३५ वर्षीय राजकुमार बराईको मृत्यु भएको छ ।

बिरगञ्ज घर भएका बालक चन्दन बेथरीमा स्थानीय सिमेन्ट उद्योगमा काम गर्ने आफ्ना अभिभावकसँगै बस्दथे ।

बेथरीको हाटबजारमा समान किन्दै गरेका बेला गोली चलेको स्थानीयले बताएका छन् । मृत्युहरु आन्दोलनकारी नभई हाटबजारमा किनमेल गर्न गएकाहरु रहेको स्थानीयले बताएका छन् ।

झडपमा २० प्रहरी र पाँच जना स्थानीय पनि घाईते छन् ।

गम्भीर घाईते पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ साईन्सेजमा उपचार भैरहेको छ ।

गोली लागि गम्भीर घाईते हुनेहरुमा हाटीबनगाईकी ५० वर्षीया सगती मुराउ, गोनाहाकी ३० बर्षीय नन्दनी पाण्डे, मैनहिवाका ६० बर्षीय पूर्णबासी धोबी, हाटिबनगाईकी ३० वर्षीया सरस्वती मुराउ र दीपेन्द्र साहनी छन् ।

प्रहरीका गाडीमा आक्रमण गर्न खोज्नेहरु हाटबजारतिर भागेपछि प्रहरी कार्वाही पनि हाटबजारतिरै केन्द्रित भएको थियो ।

घटनाको अर्को दिन ३० भदौ बिहानैदेखि भैरहवा बजार सहित गाउँगाउँबाट मधेशी मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिन थालेपछि ब्यापक प्रहरी परिचालन गरिएको छ ।

स्थानीय प्रशाशनले झडपस्थल बेथरी क्षेत्रमा कफ्र्यूलाई निरन्तरता दिएको छ भने भैरहवामा पनि निशेधाज्ञा जारी छ ।

तस्वीर: दीपक ज्ञवाली

तस्वीर: दीपक ज्ञवाली

रुपन्देही प्रहरी प्रमुख राजेन्द्रप्रसाद ढकाल थप हिंसा हुन नदिन र स्थितिलाई सामान्य बनाउन प्रयास भइरहेको बताउँछन् ।

२९ भदौ, मंगलबारको घटनाविरुद्ध आज बिहान भैरहवा बन्द गराउदै हिड्ने मोर्चाका तीन कार्यकर्तालाई पक्राउ गरिएको ढकालले बताए । अहिले बेथरी वरपरका गाउँहरुमा मोर्चाका आक्रोशित कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।

२९ भदौमा मालबहाक साधन र प्रहरीका गाडीमा आन्दोलनकारीहरुले आक्रमण थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरी सुरक्षामा लुम्बिनी करिडोरबाट सामान लोड गरी गन्तब्यतर्फ जाँदै गरेका ट्रक र प्रहरीको गाडीका साथै बेथरी प्रहरी चौकीमासमेत पेट्रोल बम प्रहार गरेपछि तनाब बढेको जिल्ला प्रहरी प्रमुख राजेन्द्र ढकालले बताएका छन् ।

आन्दोलनकारीले प्रहार गरेको पेट्रोल बमका कारण लुगा सल्किएर जल्न लागेका प्रहरीका नायब निरीक्षक जनक रेग्मीलाई तत्कालै बचाउन सफल भएको ढकालले बताए ।

मंगलबार मृत्यु भएकाहरुको शव आफन्तहरुले अझै बुझेका छैनन् । दुई मृतकका आफन्त सम्पर्कमा आएको र शवहरुको ब्यबस्थापन गर्न लागिएको प्रहरीले जनाएको छ ।

२४ र २५ भदौमा उनीहरुले यही सडक खण्डको छेउमा रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको अर्घाखांची सिमेन्ट उद्योग लगायत सात उद्योगमा तोडफोड गरेका थिए ।

२३ भदौमा उद्योग वाणीज्य महासंघको केन्द्रीय नेतृत्व र मोर्चाको शीर्ष नेतृत्वबीच भैरहवामै भएको छलफलमा उद्योगीहरुले बन्द फिर्ता गरी वार्तामा बस्न आग्रह गरेका थिए ।

त्यसयता आन्दोलनकारीहरुले उनीहरुकै उद्योगहरुलाई निशाना बनाईरहेको उद्योगीहरुले बताएका छन् ।

तीजकै दिन कर्फ्यू र निशेधाज्ञाका कारण भैरहवा क्षेत्रमा तीज मनाउने महिलाहरु प्रभावित भएका छन् ।

दीपक ज्ञवाली,बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>