थप समाचारबिहीबार, भाद्र ३१, २०७२
चियाको तलतल मेटाउन खोज्दा गोलीको छर्रा

सन्तलाल र मलिनीदेवी अस्पतालमा । तस्वीर: सुरेश विडारी
२०४६ सालदेखि नै आन्दोलन देखिरहेका भए पनि इनर्वाका ५० वर्षीय सन्तलाल यादवले सीमाङ्कनको विरोधमा १५ भदौमा वीरगञ्जमा भइरहेको प्रदर्शनबारे खासै बुझेका थिएनन् । उनलाई त्यस दिन गोली नै चल्छ भन्ने पनि लागेको थिएन ।
डेढ वर्षअघि सवारी दुर्घटनामा परेर एउटा खुट्टा गुमाएका उनी कामै नभई घर बाहिर निक्लदैनथे । त्यसदिन खाना खाएपछि केही बेर घरमै पल्टेका सन्तलाललाई चियाको तलतल लाग्यो ।
तलतल मेट्न र बजारको हालचाल बुझ्न उनी चियपसलमा पुगे । तर, बजारमा चर्केको आन्दोलनका कारण सबै पसल बन्द थिए । ढुंगामुढा नाराबाजी भइरहेको थियो ।
आन्दोलनमा रुची नभएका उनी घर फर्कनै लागेका थिए, त्यही बेला प्रहरीले गोली चलायो ।

सन्तलालको ढाडमा गोलीले बनाएको घाउ ।
“ढाडमा छर्रा लाग्यो, त्यहीं ढलें,” अस्प्तालको बेडमा रहेका सन्तलाल भन्छन्, “खुट्टा मात्रै सद्दे भएको भए त्यती बेलासम्म म घरभित्र पसिसकेको हुने थिएँ ।”
१६ दिन भयो सन्तलाल नारायणी उप–क्षेत्रीय अस्पतालमा छन् ।
आन्दोलनकारीसंग भएको झडपमा प्रहरीले हानेको प्लास्टिक गोलीको छर्रा उनको ढाडको भित्र अडकिएको छ ।
छर्रा अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न नसकिएको अस्पतालले जनाएको छ । घाउ पनि सञ्चो भएको छैन । शुरुमा आफैंले किन्नु परेको औषधी चाहीं अहिले निशुल्क मिलिरहेको छ ।
“डाक्टरले पोषिलो खाना खुवाउ भन्छन्, तर हामीसंग पैसा छैन”, सन्तलालकी श्रीमती मालिनी देवी भन्छिन, “कसैले सहयोग पनि गरेका छैनन् ।”
हुर्केको जेठो छोरा गुमाएका यादव दम्पत्तीका बाँकी दुई छोरी र एक छोरा कमाउन सक्ने भइसकेका छैनन् । परिवारको सबै जिम्मेवारी मलिनीकै काँधमा छ ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
