अर्थ/बजारबिहीबार, भाद्र ३१, २०७२

देश आर्थिक समृद्धिको बाटोमा लाग्ने निजी क्षेत्रको विश्वास

हिमालखबर

संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ पारित भएपछि निजी क्षेत्रले मुलुक आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गरेको छ ।

वर्षौंको राजनीतिक अस्थिरताले थिलथिलो परेको देशको अर्थतन्त्रले निश्चित बाटो लिने र लगानीको अवसर प्राप्त गर्ने उद्योगी व्यवसायीहरुले अपेक्षा गरेका छन् ।

नयाँ संविधान जारी भएपछि सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता एवम् स्वतन्त्र आर्थिक गतिविधिमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ हुने र रोजगारीका अवसरसमेत वृद्धि हुने अपेक्षा निजी क्षेत्रको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले आठ वर्षको मिहेनतपछि आएको संविधानले राजनीतिक बाटो तय गरेको उल्लेख गर्दै अर्थतन्त्रले अब नयाँ उचाइ लिने विश्वास व्यक्त गरे ।
“संविधानपछि राजनीतिक दलले आर्थिक समृद्धिको पक्षलाई प्राथमिकता दिन्छन् र दिनैपर्छ,” मुरारकाले भने ।

“संविधान जारी भएर देश एउटा निश्चित बाटोमा अगाडि बढ्नु सबैका लागि सुखद अनुभूति हो,” नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले भने, “विगत सात दशकदेखिको जनचाहना पूरा भएको छ । सबै नेपालीका लागि यो गौरवको क्षण हो ।”

उनले केही समय राजनीतिक, प्रशासनिक एवम् आर्थिक क्षेत्रमा अन्योल कायमै रहने उल्लेख गर्दै सङ्घीय संरचनाको व्यवस्थापनपछि देशको आर्थिक नीति कार्यान्वयनमा आएर समृद्धिको मार्गमा लाग्ने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले संविधान जारी गर्दै गर्दा सुनिएका असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न सके देश राजनीतिक स्थायित्वतर्फ जाने र अर्थतन्त्रले नयाँ बाटो लिने बताए ।

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संविधान जारी नभएर देशमा लगानी नआइरहेको अवस्थामा आगामी दिनमा अन्तर्राष्ट्रिय लगानी आउने विश्वास व्यक्त गरे ।

उनले निरन्तरको बन्द हडतालले देशको आर्थिक विकास अवरुद्ध हुने भन्दै अब सबै शान्ति र स्थायित्वको बाटोमा हिंड्नुपर्नेमा जोड दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>