टिप्पणीबिहीबार, भाद्र ३१, २०७२
सहिष्णुताका सूत्रधार
‘सर्वधर्म, समभाव’ जप्ने महात्मा गान्धी स्वयं स्वामी विवेकानन्दका अनुयायी थिए। धार्मिक विवादमा फसेका हामी नेपालीलाई यस्तै सहिष्णु भावको खाँचो छ।
११ सेप्टेम्बर १८९३। अमेरिकाको शिकागो शहरमा आयोजित ‘वर्ल्ड पार्लियामेन्ट अफ रिलिजन’ मा स्वामी विवेकानन्द हिन्दू धर्मबारे विशेष प्रवचन दिइरहेका थिए।
‘अमेरिकाका दिदीबहिनी तथा दाजुभाइहरू’ बाट सम्बोधन गर्दै उनी भनिरहेका थिए, “म त्यस्तो धर्मसँग सम्बद्ध भएकोमा गर्वानुभूति गर्दछु जसले विश्वलाई सहिष्णुतासँगै वैश्विक स्वीकार्यता सिकाएको छ।
हामी वैश्विक सहिष्णुतामा मात्र विश्वास गर्दैनौं, बरु सबै धर्मलाई सत्यका रूपमा स्वीकार्छौं।” विवेकानन्दको सहिष्णु मान्यतालाई महात्मा गान्धीले ‘सर्वधर्म समभाव’ को मनसा, वाचा र कर्मणाद्वारा जीवन्त बनाइदिए।
कट्टर हिन्दू गान्धी भारतका अल्पसंख्यक मुसलमानका निम्ति कवच बनिदिंदा अन्ततः एक जना धर्मान्ध हिन्दूद्वारा नै मारिन पुगे।
तर, १२२ वर्षअघिको विवेकानन्दको त्यो शिकागो प्रवचनको प्रतिध्वनि आजसम्म महसूस गरिंदैछ, सुनिंदैछ।
स्वीस–फ्रान्सेली दार्शनिक रोम्या रोलाँ विवेकानन्दबाट यति प्रभावित थिए कि, उनले ‘विवेकानन्द एण्ड दी युनिभर्सल गोस्पल’ पुस्तक नै प्रकाशित गरे।
भारतको पछिल्लो गणतन्त्र दिवसका मुख्य अतिथि अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो राजकीय सम्बोधनमै भनेका थिए, “आज म स्वामी विवेकानन्दलाई स्मरण गर्दछु, जसले हिन्दू धर्म र योगलाई पहिलोपल्ट मेरो शहर पुर्याएका थिए।” ओबामाले भने जस्तै विवेकानन्द पूर्व–पश्चिम जोड्ने एउटा सेतु थिए।
विवेकानन्दको अर्को योगदान धर्मलाई कर्मकाण्डबाट मुक्त गर्नु र मानव हितको साधक बनाउनु थियो। उनले छुवाछूत प्रथा हटाउने, महिला शिक्षाका लागि विद्यालय खोल्ने, गरीब र रोगीको सेवा गर्ने जस्ता अभियान चलाए।
विवेकानन्दका लागि धर्म मुक्ति र सहिष्णुताको माध्यम थियो। विवेकानन्दको जीवनी पढ्दा उनका शिष्यहरू कुष्ठरोगीका आश्रमसम्म पुगेर घाउका पीप सफा गरिदिएको जस्ता अनेक वृत्तान्त पाइन्छन्। सरल र मितव्ययी जीवन बाँच्ने शिष्यहरू आजका ‘स्पिरिचुअल सुपरमार्केट’ चलाउने ‘साधु महाराज’ भन्दा बिल्कुल फरक थिए।
पशुपतिनाथ र लुम्बिनी
आज नेपाल धर्मको सवालमा जेलिएको छ। साम्प्रदायिक सद्भाव बिथोल्न खोज्नेहरू सक्रिय भइरहेका छन्। त्यसैले पनि यतिवेलाको नेपालमा विवेकानन्दको हिन्दू धर्मबारेको व्याख्या र सहिष्णुताको आह्वान सान्दर्भिक छ।
परम्परादेखि धार्मिक सद्भावको उदाहरण बनेका नेपालमा अदूरदर्शी राजनीतिक नेतृत्वले धार्मिक कलहको विषवृक्ष नै रोपेका छन्। जसले सम्प्रदायहरूबीच धार्मिक निषेधीकरण मौलाउँदो छ।
पछिल्लो साता संविधानसभा भवन बाहिरको दृश्यले यसैको संकेत गरेको थियो। कमल थापा नेतृत्वको राप्रपा नेपालका हिन्दूवादीको जुलूस र धर्मनिरपेक्षताको मागकर्ता गैर हिन्दू प्रदर्शनकारीबीच सुरक्षा दस्ता नभइदिएको भए कुनै अप्रिय घटनाको सम्भावना थियो।
त्यो क्षणको दुर्घटना टरे पनि धर्मनिरपेक्षताको द्वन्द्व प्रतिदिन बढ्दो छ। एकातिर हिन्दू राष्ट्रको माग गर्नेहरू काठमाडौं खुलामञ्चमा आमरण अनशनमा छन् भने धर्मनिरपेक्षतावादीहरू पनि त्यसैगरी नयाँबानेश्वरमा अनशनमा छन्।
हिन्दूहरूको सबैभन्दा ठूलो धाममध्येको पशुपतिनाथ र बौद्ध धर्मका प्रणेता शाक्यमुनि बुद्धको जन्मभूमि नेपालका बासिन्दाबीच फाटो ल्याउने दुश्चेष्टा भइरहेको छ।
धर्मनिरपेक्षताको नाममा ईसाइकरण गर्नेहरूले बुद्धमार्गीलाई पनि उचालिरहेका छन्। आफ्नो जीवनमा सर्वाधिक प्रभाव पार्ने व्यक्तिमा शाक्यमुनि बुद्ध बताउने विवेकानन्दले भनेका थिए, “हिन्दू र बौद्ध धर्मबीचको सम्बन्ध लगभग यहुदी र खि्रस्तियानीबीचको जस्तै हो।
जिसस क्राइस्ट यहुदी थिए अनि शाक्यमुनि चाहिं हिन्दू। यहुदीहरूले जिससलाई अस्वीकार मात्र गरेनन्, शूली नै चढाइदिए। तर, हिन्दूहरूले शाक्यमुनिलाई ईश्वरकै रूपमा स्वीकारे।
शाक्यमुनि हिन्दू धर्ममाथि धावा बोल्न आएका थिएनन्, उनले त तार्किक संश्लेषणद्वारा हिन्दू धर्मलाई नै पूर्ण गरिदिए।”
विडम्बना, आज मुलुकका हिन्दू धर्मका अगुवाहरू विवेकानन्द जस्तो सहिष्णु सोच राख्ने नभई कमलनयनाचार्य, कमल थापा र खुमबहादुर खड्काहरू जस्ता छन्।
धर्मनिरपेक्षता माग्नेहरू सिद्धान्ततः संघीयता पक्षपोषकहरू छन्, जसले धर्मबाट विच्छेद राष्ट्र सँगसँगै धर्मकै जगमा उभिने जातीय राज्य मागिरहेका छन्।
अनि उनीहरूलाई काँधमा बोक्नेहरू चाहिं वर्गसंघर्षको वकालत गर्ने मार्क्स, लेनिन र माओका चेलाहरू छन्। यस्तो भयावह परिस्थितिमा विवेकानन्दको सहिष्णुताको दर्शन आत्मसात् गर्नुमा नै नेपालीजनको भलो हुनेछ।