समाचारबिहीबार, भाद्र ३१, २०७२

यसरी जारी हुँदैछ संविधान

हिमालखबर

नेपालको संविधान, २०७२ मा ३०८ धारा, ३५ भाग, ९ अनुसुची रहने भएको छ ।

संविधानसभाले ३० भदौमा गठन गरेको आनुषंगिक समितिले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई ३१ भदाैमा बुझाएको प्रतिवेदनमा यस्तो व्यवस्था छ । प्रमुख तीन राजनीतिक दलले प्रस्तुत गरेका र सभाले स्वीकृत गरेका संशोधनलाई समेटेर आनुषंगिक समितिले संविधानलाई अन्तिम रुप दिइएको हो ।

संशोधन प्रस्ताव, भाषिक शुद्धता र अनुक्रम मिलाउन संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराइको अध्यक्षतामा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला, नेकपा एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेल, एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल र राप्रपा नेपालका सभासद् कुन्तीकुमारी शाही सदस्य रहेको एक समिति गठन भएको थियो ।

समितिले भाषिक शुद्धाशुदी एवम् संशोधन प्रस्तावबाट पारित भएका विभिन्न आयोगसम्बन्धी धाराको क्रमागत मिलाउने काम गरेको समिति सदस्य कुन्तीकुमारी शाहीले बताइन् ।

समितिले चार घण्टा बढी समय लगाएर तयार पारेको एवम् सभाबाट पारित भएको संविधानको विधेयक संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाएको हो ।

समितिले बुझाएको विधेयकलाई संविधानसभा सचिवालयले थप परिस्कृत गरी मुद्रण गर्नेछ । नेपाली कागजमा मुद्रण हुने पाँचप्रति संविधानको विधेयकलाई सभासद्ले संविधानसभा भवन नयाँ बानेश्वरको ल्होत्से हलमा १ असोज बिहान विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हस्ताक्षर गर्ने कार्यक्रम रहेको संविधानसभा सचिवालयका सहायक प्रवक्ता शुदर्शन कुइकेलले बताए ।

सभासद्को हस्ताक्षर सकिएलगत्तै संविधानसभाका अध्यक्ष नेम्वाङले त्यसलाई प्रमाणित गर्नेछन् । संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणित भएपछि त्यस्तो विधेयकले संविधानको रुप धारण गर्नेछ ।

संविधानको प्रतिलाई आगामी ३ असोज साँझ ५ बजे आयोजना हुने औपचारिक राष्ट्रिय समारोह एवम् विशेष बैठकमा राष्ट्रपति समक्ष सभाध्यक्षले पेश गर्नेछन् ।

समारोहमा राष्ट्रपति रामवरण यादवले उक्त संविधानको प्रतिमा हस्ताक्षर गरी नेपाली जनता समक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्नेछन्।

घोषणा भएको संविधानको एकप्रति संविधानसभा सचिवालयको अभिलेखमा राखिने छ भने अरु एकप्रति राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ ।

संविधान घोषणा भएलगत्तै अन्तरिम संविधान, २०६३ को खारेजी र संविधानसभा स्वतः व्यवस्थापिका–संसद्‌मा रुपान्तरण हुने संविधानसभा सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>