थप समाचारशुक्रबार, आश्विन १, २०७२

आफैंले बनाएका मूर्ति तोड्दै कालिगढ

हिमालखबर

बिक्री नभएका मूर्ति नष्ट गर्दै नन्दलाल पण्डित (बीचमा) र सहयोगीहरु । तस्वीरः सुरेश विडारी

बिक्री नभएका मूर्ति नष्ट गर्दै नन्दलाल पण्डित (बीचमा) र सहयोगीहरु । तस्वीरः सुरेश विडारी

रु. ४० हजार खर्च गरेर विश्वकर्मा बाबाका ५० वटा मूर्ति बनाएका वीरगञ्ज नगवाका नन्दलाल पण्डित १ असोज बिहान धमाधम मूर्ति तोड्दै गरेका भेटिए ।

“४० हजार खर्च गरेर ५० वटा मूर्ति बनाएँ । १५ वटा मात्रै बिक्री भए, बाँकी कहाँ राख्ने ?” उनले गुनासो गरे ।

वीरगञ्जमा लामो समयदेखि जारी आमहडताल र कर्फ्यूले गर्दा यसपटक विश्वकर्मा पूजाको धुमधाम छैन ।

विशेष गरी यातायात व्यवसायी र उद्योगीले धुमधामका साथ विश्वकर्मा पूजा मनाउने गरे पनि एक महिनाअघि देखि नै यातायात ठप्प भएपछि न त व्यवसायीमा उत्साह छ न त वातावारण नै । उद्योगहरु पनि बन्द छन् । मजदुरहरु बेरोजगार भएका छन् ।

पण्डितले मूर्ति बनाउनका लागि वीरगञ्जको मुर्लीमा भाडामा लिएको जग्गाको म्याद आजसम्म मात्रै हो । अब जग्गा खाली गर्नुपर्छ ठूलाठूला मूर्ति अर्को वर्षसम्म राख्न लागत भन्दा भण्डारण भाडा बढी पर्छ । त्यसैले उनले मूर्ति तोडेर विसर्जन गरेका हुन् ।

“यही मूर्ति बिक्री भएको भए अहिले कतै यसको पूजा भैरहेको हुन्थ्यो, यसरी मूर्ति भत्काउँदा दिक्क लागेको छ,” पण्डितले भने ।

वीरगञ्जका अधिकांश कालीगढको अवस्था पण्डितको जस्तै छ । लगानी र मेहनत खेर गएको भन्दै उनीहरु चिन्तित छन् ।

 आफैंले बनाएको मूर्तिसँगै हरिसिद्धिका कालिगढ कुनदेव पण्डित । तस्वीरः सुरेश विडारी


आफैंले बनाएको मूर्तिसँगै हरिसिद्धिका कालिगढ कुनदेव पण्डित । तस्वीरः सुरेश विडारी

गत वर्ष १५० वटा मूर्ति बिक्री गरेका लङ्गडीका नरेश बैठाले यसवर्ष २५ वटा मूर्ति बनाए पनि १० वटा मात्रै बेचियो । उनले यसवर्ष बारा पर्सा औद्योगिक करिडोरबाट मूर्तिको माग नभएको सुनाए ।

माटो, पराल, बाँस लगायत सामाग्रीको प्रयोग गरी बनाइने एउटा मूर्ति तयार पार्न कालिगढहरु रु १ हजारसम्म खर्च गर्छन् ।

तराईमा सरस्वती पूजा, विश्वकर्मा पूजा र दशैंका बेला कालीगढका मूर्ति विक्री हुन्छन् ।

वीरगञ्ज, कलैया, परवानीपुर, जितपुर लगायत बजारमा नेपालका मात्रै नभएर भारतका कालीगढहरु समेत आएर मूर्ति बनाएर बेच्ने गर्दछन् ।

वीरगञ्ज नेशनल ट्रेडिङ चोकमा ग्राहक कुरेर बसेका भारत हरिशिद्धिका कुनदेव पण्डित यसपाला आफ्नो मेहनत र लगानी खेर गएको बताउँछन् ।

“दुई महिना लगाएर ४० वटा मूर्ति बनाएँ, २० वटा बिक्री भए अरु त्यसै छन् ,” उनले भने ।

सुरेश विडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>