समाचारशुक्रबार, आश्विन १, २०७२
तीन दल र गच्छदारबीच कुरा मिलेन
सहमतिपत्रको भाषामा कुरा मिल्न नसक्दा प्रमुख तीन दल र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबीच सहमति जुट्न सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरु गच्छदारले राखेको माग पूरा गर्न नसक्ने जनाएपछि सहमति हुन नसकेको लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले बताए । उनले भने, “भाषामा कुरा मिल्न नसकेपछि सहमति हुन सकेन ।”
सहमति पत्रमा उल्लेख गरिएको ‘विभिन्न स्थानहरुमा सीमाकंनका विषयमा उठेको असन्तुष्टि’ को अगाडि तराई–मधेश हुनुपर्ने गच्छदारले माग राखेका थिए । तर, प्रमुख दलका शीर्ष नेताहरु यो शब्द राख्न सहमत नभएपछि सहमति हुन सकेन ।
चौधरीले भने, “नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मधेश शब्द राख्न मान्नुभएन ।” बैठकपछि शीर्ष नेताहरु संविधानसभा भवन नयाँ बानेश्वर फर्किएका थिए ।