समाचारशुक्रबार, आश्विन १, २०७२
असन्तुष्ट पक्षको माग सम्बोधन गरिन्छः नेताहरु
संविधानसभाबाट संविधान पारित भएसँगै प्रमुख तीन दलका शिर्ष नेताले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न सकिने बताएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट ‘नेपालको संविधान, २०७२’ पारित र प्रमाणीकरण भएसँगै नेपाली जनताको सात दशकको सपना पूरा भएको बताएका छन् ।
१ असोजमा सभाध्यक्षले संविधान प्रमाणीकरण गरेपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नो पार्टीले सोचेजस्तो संविधान नबने पनि जनताका प्रतिनिधिले जनताका लागि संविधान बनाएको घटना ऐतिहासिक भएको बताए ।
उनले भने, “यो सबै नेपालीको जित हो । नेपाल राष्ट्रको विजय हो ।” उनले असन्तुष्ट पक्षको माग समेट्न संविधान परिमार्जन गरेर अघि बढ्न सकिने बताए ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टिहरुलाई सम्बोधन गरेर अघि बढ्न सकिने बताए ।
नेता नेपालले आम नेपालीको हकहितलाई समेटेर प्रगतिशील संविधान बनेको भन्दै आगामी दिनमा संविधान संशोधनबाटै असन्तुष्ट पक्षको माग पनि सम्बोधन गर्न सकिने बताए ।
नेपाली काँग्रेसका महामन्त्री तथा उप–प्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ संविधानले जनताका अधिकतम आवश्यकता र चाहना संम्बोधन गरेको बताए ।
सिंहले केही दलहरुकोे असन्तुष्टि वार्ता र संवादका माध्यमबाट समाधान गर्न सकिने बताए । संविधान गतिशील भएका कारण समयसापेक्ष विधि र प्रक्रिया अनुसार परिमार्जन गर्न सकिने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
