समाचारशनिबार, आश्विन २, २०७२
रामेछापमा बस दुर्घटना, आठको मृत्यु, ४२ घाइते
रामेछापको मन्थली– ७ मा १ असोज साँझ बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
करिब ५ बजे रामेछाप यातायातको ना४ख ५२४८ को यात्रुबाहक बस सालु गैराथोकमा दुर्घटना हुँदा गोठगाउँ–७ का ३० वर्षका कृष्णबहादुर कार्की, गोठगाउँ–४ का ५५ वर्षका हेमबहादुर थापा, गोठगाउँ–७ का ५४ वर्षका भीमबहादुर बूढाथोकी, मन्थली नगरपालिका–७ की ५३ वर्षकी दिलकुमारी आलेमगर, बिजुलीकोट–४ का ५० वर्षका जीतजङ्ग महत, मन्थली नगरपालिका–७ की ३७ वर्षकी मनकुमारी पिठाकोठी, गोठगाउँ–३ की ४५ वर्षकी मसिनी कार्की गोठगाउँ–५ की वर्ष ६५ की सेतुमाया श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक मोहनकुमार परियारले जानकारी दिए ।
सो दुर्घटनामा परी ४२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३२ जनाको काठमाडौँको न्युरो अस्पताल, बिएण्डबी अस्पताल, केएमसी अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको र बाँकी १० जनाको सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये काठमाडौंमा उपचार भइरहेका केहीको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि मृतकका सबै आफन्त र यातायात सेवा समितिको प्रतिनिधि नआएको कारण अहिलेसम्म हुन सकेको छैन ।
सदरमुकाम मन्थलीबाट रामेछापको गोठगाउँ गाविसका लागि छुटेको यात्रुबाहक बस सडकबाट करिब २०० मिटरभन्दा तल खसेको थियो ।
प्रहरीका अनुसार मन्थलीबाट बस छुट्ने बेला ३५ जना मात्रै यात्रु रहेको तर बीच बाटोमा थप यात्रु चढेका थिए । बसमा ५२ जना यात्रु सवार रहेको बताइएको छ । बस कसरी दुर्घटना भएको हो भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
