थप समाचारशनिबार, आश्विन २, २०७२
नवलपरासीमा मजदुरहरुले खुशीयाली मनाए
लामो संघर्षपछि देशले नयाँ संबिधान पाएको भन्दै नवलपरासीको कावासोतीमा रहेका बारा, पर्सा, रौतहट र सर्लाहीका मजदुरहरुले दीपावली गरेर खुशीयाली मनाएका छन् ।
नेपालको नक्सा भित्र ‘नयाँ संविधानलाई स्वागत छ’ लेखेर उनीहरुले खुसीयाली मनाएका हुन् ।
बारा, पर्सा, रौतहट र सर्लाहीबाट प्लम्बर, सिकर्मी, डकर्मी काम गर्न आएका मजदुरहरुले जिल्लामा गएर दीपावली गर्ने वातावरण नभएकाले कावासोतीमै विश्वकर्मा पूजाको अवसर समेत पारेर दीपावली गरेको बाराको लक्ष्मीपुर– ९ का बृजी साहले बताए ।
“आठ वर्ष लगाएर भए पनि हाम्रा नेताहरुले संविधान बनाए, खुशी लागेको छ,” साहले भने । अब देशमा शान्ति आओस भन्ने उनको कामना छ ।
रौतहटका जीयालाल शर्मा पनि कावासोती रहेका सबै मजदुरहरु एक भएर दीपावली गरेको बताए ।
बारा पर्सा र रौतहटबाट करिब चार सय मजदुरहरु कामका लागि अहिले कावासोतीमा छन् ।
विद्रोही गिरी, नवलपरासी