थप समाचारशनिबार, आश्विन २, २०७२
कैलालीमा ‘थारु युवा दस्ता’ गठन
टीकापुर घटनापछि शिथिल बनेको थरुहट/थारुवान आन्दोलनलाई सशक्त बनाउन थरुहट/थारुवान संघर्ष समितिले ‘थारु युवा दस्ता’ सार्वजनिक गरेको छ ।
१ असोजमा कैलालीको पहलमानपुर–९ नक्फोर्वा गाउँमा थारु युवा दस्ता सार्वजनिक गरिएको हो ।
थरुहट/थारुवान संघर्ष समितिको आन्दोलनलाई सशक्त बनाउन थारु युवा दस्ता तयार गरिएको समितिले जनाएको छ ।
अहिले बनाइएको ५१ सदस्यीय युवा दस्तालाई बढाएर कैलालीदेखि नवलपरासीसम्म एक लाख सदस्य बनाइने थारु संर्घष समितिका कैलालीका प्रवक्ता माधब चौधरी पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
सो दस्ता भूमिगत रहेर शान्तिपूर्ण आन्दोलनलाई सघाउने उनले बताए ।
उनीहरुले आफ्ना माग पुरा नभए असोज ३ र ४ गते संविधान जलाउने र ब्लाक आउट गर्ने बताए ।
पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य होरिलाल चौधरीले युवा दस्ताले थरुहट÷थारुवान आन्दोलनलाई सशक्त, मर्यादित र व्यवस्थित बनाउन सहयोग गर्ने बताए ।
सो दस्ताले आन्दोलनमा सहभागिहरुको सुरक्षाको काम गर्ने उनको दाबी छ ।
बच्चु विक