थप समाचारशनिबार, आश्विन २, २०७२
स्थानीय महिलाले ढाका टोपी लगाइदिएपछि राजकुमार फ्रेडरिकले सेल्फी खिचे (फोटो फिचर)
डेनमार्कका राजकुमार फ्रेडरिक एन्ड्रे हेन्रिक १ असोजमा लमजुङको करेंदी दोभान पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन् ।
डेनिस रेडक्रसले भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि गरेका कार्यक्रमको अवलोकनका लागि पुगेका राजकुमारको स्वागत–सत्कारमा नौथरदेखि पाचोकसम्मका स्थानीय जुटे ।
बाटोका विभिन्न स्थानमा समूहमा बसेका गाउँलेले फुलमाला, टीका र दहीले राजकुमार फ्रेडरिकको स्वागत गरे । नेपाली खुकुरी, ढाका टोपी र स्थानीय हस्तकला उपहार दिए । राजकुमारले पनि स्थानीय महिलाले सडक किनारमै स्टिलको गिलासमा खुवाएको दही खाए, ढाका टोपी लगाएपछि सेल्फी खिचे ।
नितान्त व्यक्तिगत भनिएको नेपाल भ्रमणका क्रममा राजकुमार फ्रेडरिकले नेपालका नेता, प्रशानिक कर्मचारी र सञ्चारकर्मीसँग समेत भेटवार्ता नगर्ने उनका सहयोगीहरुले बताएका छन् ।
राजकुमारले पाचोकमा भूकम्पले भत्काएको पाचोक माविको अवलोकन गरे । गाउँमा डेनमार्कका राजकुमार आउने खबरले खुशी भएका विद्यार्थीहरु उनलाई स्वागत गर्न पर बाटोसम्मै पुगेका थिए ।
राजकुमारले विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री प्रदान गरेका छन् । विद्यार्थीहरुसँग कुरा गर्दै उनले नेपाल भ्रमण आफूले सोचे भन्दा रमाइलो भएको बताए ।
भूकम्प पीडितलाई डेनमार्कको सहयोग जारी रहने भन्दै उनले अहिले आफू निकै सुन्दर ठाउँमा आएको बताए ।
सदरमुकाम बेसीशहरबाट पाँच घण्टा मोटरयात्रा र दुई घण्टा पैदलयात्रा गरी उनी पाचोक पुगेका हुन् ।
आज २ असोजमा बन्सार गाविस घुमेर साँझसम्म राजकुमार सदरमुकाम बेसी शहरमा बास बस्नेछन् भने आईतबार काठमाडौं हुँदै डेनमार्क फर्कने कार्यक्रम छ ।
राजकुमारको सुरक्षार्थ प्रहरी निरिक्षक हेमन्त कुमार थापाको नेतृत्वमा विशेष सुरक्षा व्यवस्था मिलाईएको छ ।
शब्द/तस्वीर: युवराज श्रेष्ठ, पाचोक (लमजुङ)