समाचारशनिबार, आश्विन २, २०७२

नयाँ संविधान घोषणाको तयारी पूरा

हिमालखबर

संसद् सचिवालयले ‘नेपालको संविधान, २०७२’ लाई जनतासमक्ष घोषणा गर्ने ऐतिहासिक विशेष समारोहको तयारी पूरा भएको जनाएको छ ।

गत ३० भदौमा संविधानसभाबाट पारित भएको नयाँ संविधानलाई १ असोजमा सभासद्ले हस्ताक्षर गरेपछि सभाध्यक्ष नेम्बाङले प्रमाणिकरण गरेका थिए । नयाँ संविधानलाई ३ असोज साँझ ५ बजे बस्ने विशेष समारोहमा रुपान्तरित संविधानसभा बैठकले सोही दिनदेखि लागू भएको घोषणा गर्नेछ ।

सभाको उक्त बिशेष बैठकलाई औपचारिक राष्ट्रिय समारोहका रुपमा मनाउने गरि संसद सचिवालयले आवश्यक तयारी पूरा गरेको हो ।

सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले सभासद्को हस्ताक्षर र अध्यक्षले प्रमाणीकरण गरेको नेपाली कागजमा मुद्रित संविधानको पृष्ठ ३५० मा राष्ट्रपति डा. रामवरण यादवले हस्ताक्षर गर्ने र संविधान जारी भएको घोषणा गरिने जानकारी दिए ।

सचिवालयले संविधान घोषणा गर्ने समारोहस्थलको सरसफाइ तथा सजावट लगायत आवश्यक काम पनि पूरा गरिसकेको छ । उक्त कार्यक्रमलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइने भएको छ ।

सभाध्यक्ष नेम्वाङले राष्ट्रपति यादव समक्ष पारित भएको संविधान घोषणाका लागि पेस गरेपछि राष्ट्रपति रामवरण यादवले “संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु ” भन्ने ब्यहोरामा हस्ताक्षर गर्दै संविधान जारी गर्नेछन् ।

यसैबीच ३ असोजमा हुने विशेष समारोहमा सरकारका मन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, पूर्वसभासद्, सरकारका उच्च अधिकारी, नेपालस्थित कूटनीतिक नियोग प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिति हुनेछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>