समाचारशनिबार, आश्विन २, २०७२
प्रधानमन्त्री चयनको म्याद सर्यो
संसदको चालू बर्खे अधिवेशन अन्त्य भएसँगै राष्ट्रपति, प्रधानमन्त्री र सभामुख चयन प्रक्रियाको मिति पनि पछि सरेको छ ।
प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति रामवरण यादवले आज, २ असोज रातिबाट लागू हुने गरी संसदको चालू अधिवेशन अन्त्यको पत्र व्यवस्थापिका संसदलाई पठाएका छन् ।
राष्ट्रपतिको पत्र सभामुख सुवासचन्द्र नेम्वाङले संसदमा पढेर सुनाएका थिए ।
राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको चयन
नयाँ संविधानमा संविधान जारी हुँदाका बखत संसद अधिवेशन चलिरहेको रहेछ भने सात दिनभित्र र चलिरहेको रहेनछ भने आह्वान गरिएको व्यवस्थापिका संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने उल्लेख छ ।
त्यसैगरी सभामुख र उपसभामुखको चयनका लागि २० दिन र राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि एक महिनाको समय तोकिएको छ ।
तर, अब ३ असोजमा संविधान जारी हुँदाका बखत संसदको अधिवेशन चलिरहेको हुनेछैन ।
यद्यपी नयाँ संविधानको संक्रमणकालीन व्यवस्था अन्तर्गत संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका संसदको अधिवेशन चलिरहेको रहेनछ भने राष्ट्रपतिले यो संविधान प्रारम्भ भएको मितिले सात दिनभित्र व्यवस्थापिका संसदको अधिवेशन आह्वन गर्ने उल्लेख छ ।
जसअनुसार राष्ट्रपतिले ३ असोजमा संविधान जारी भएको घोषणा गरेपछि त्यसको सात दिनभित्र संसद बैठक आह्वान गर्नेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
