समाचारशनिबार, आश्विन २, २०७२

सीमाङ्कनमा अर्घेल्याइँ नगरः शीर्ष नेता

हिमालखबर

फाइल तस्वीर

फाइल तस्वीर

तीन प्रमुख दलका शीर्ष नेताहरुले संविधानले सबैका धेरै मागहरुलाई समेटेको भन्दै सीमाङ्नमा चित्त बुझेन भन्दैमा अर्घेल्याइँ नगर्न मधेश केन्द्रित दलहरुलाई आग्रह गरेका छन् ।

२ असोज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा कांग्रेस सभापति एवम् प्रधामन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान–२०७२ घोषणको ऐतिहासिक अवसरमा सहभागी हुन र खुशीयाली मनाउन सबैलाई आग्रह गरे ।

पत्रकार सम्मेलनमा प्रधामन्त्री सुशील कोइरालाले ६५ वर्षको प्रयासपछि जनताको संविधान आएको र विरलै प्राप्त हुने यस्तो अवसरमा सबै नेपाली एक ढिक्का भएर उत्सव मनाउन आग्रह गरेका छन् ।

उनले संविधानमा सबैका अधिकतम मागलाई सम्बोधन गर्ने प्रयास भएको भन्दै सीमाङ्कन सम्वन्धी असन्तुष्टिलाई सम्बोधन गर्न सम्बिधानमै आयोगको व्यवस्था भएको भन्दै असन्तुष्ट दलहरुलाई वार्तामा आउन आह्वान गरे ।

त्यस्तै एमाले अध्यक्ष केपी ओलीले संविधान घोषणाको ऐतिहासिक अवसरमा खुशीयाली मनाउन सम्पूर्ण नेपालीलाई आग्रह गरे ।

नेपालको संविधान–२०७२ आवश्यक भन्दा धेरै बढी संख्याले संविधानसभाबाट पारित भएको भन्दै ‘५ प्रतिशतले असन्तुष्टका अनुचित कुरा मान्न ९५ प्रतिशत वाध्य नहुने’ ओलीले बताए ।

यद्यपी उनले असन्तुष्ट दलहरुका माग व्यवस्थापिका संसदबाट संविधान संशोधन गरी पूरा गर्न सकिने पनि बताएका थिए । संवादबाटै सबै समस्याको हल हुने भन्दै ओलीले असन्तुष्ट दलहरुलाई वार्तामा आउन पनि आह्वान गरे ।

ओलीले केही छिमेकी मित्र असन्तुष्टि जनाएर फर्केको भन्दै त्यसो गर्नु उचित नभएको बताए । भने, “केही छिमेकी असन्तुष्टि जनाएर बाहिरिनु भएको छ, त्यो मनासिब होइन ।” उनको संकेत भारतीय विदेश सचिवप्रति लक्षित थियो ।

उनले संविधान जारी हुने अवसरमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पनि आह्वान गरे ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्ट दलहरुका सबै मागहरु सम्बिधानले पूरा गरेको दाबी गरे ।
उनले भने, “नागरिकताको कुरा पूर्णरुपमा समाधान भएको छ, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समाजिक न्याय, समानुपातिक प्रतिनिधित्व जस्ता सबै मागहरु सम्बिधानले पूरा गरेको छ ।”

उनले मधेशकेन्द्रित दलहरुका सीमाङ्कन सम्बन्धमा राखेको असन्तुष्टिलाई आयोगबाट सम्बोधन गर्न सकिने भन्दै थप केही माग भए छलफलका लागि आउन पनि आह्वान गरे ।

उनले सीमाङ्कनमा चित्त बुझेन भन्दैमा संविधानको विरोध गर्नु तर्क संगत नहुने भन्दै थपे, “असन्तुष्टि हाम्रा पनि छन्, आउनुहोस छलफल गरौं ।”

शीर्ष नेताहरुले खुलामञ्चमा सम्बोधन गर्ने
संविधान जारी भएपछि प्रमुख दलका शीर्ष नेताहरुले राजधानीको खुलामञ्चबाट संवोधन गर्ने भएका छन् ।

४ असोजमा काठमाडौंको खुलामञ्चबाट शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>