समाचारआइतबार, आश्विन ३, २०७२
बन्दकर्तालाई स्थानीयले लखेटे, ८ जना घाइते
कपिलवस्तुमा बन्द गराउँदै हिंडेका चन्द माओवादीका कार्यकर्तालाई स्थानीय वासिन्दाले लखेटेका छन् । स्थानीय व्यवसायीको प्रतिकारमा ८ जना वन्दकर्ता घाइते भएका छन् ।
३ असोज विहान कपिलवस्तुको जीतपुर बजार बन्द गराउँदै हिंडेका नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ताहरुले वाणगांगा गाविसको जीतपुर बजार बन्द गराउन थालेपछि स्थानीय व्यवसायीले प्रतिकार गरेका थिए ।
त्यसक्रमा भएको झडपमा परी ८ जना बन्दकर्ताहरु घाईते भएका हुन् ।
घाईते हुनेहरुमा चन्द माओवादीका जिल्ला सेक्रेटरी संगम पुन, जिल्ला सदस्य गणेश चौधरी लगायत ८ जना छन् ।
घाईते भएकाहरु मध्ये ३ जनालाई उपचारको लागि बुटवल लगिएको छ भने बांकी सवै घाईतेको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
क्पिलवस्तु उद्योग वाणिज्य संघ, सिद्धार्थ बजार व्यवस्थापन समिति लगायत विभिन्न संघ संस्थाहरुको पहलमा एक महिना अघि वाणगंगा नगरपालिकालाई वन्द निषेधित क्षेत्र घोषणा गरिएको थियो ।
वन्द निषेधित क्षेत्रमा कुनै पनि दल र समूहको वन्दलाई निषेध गर्ने घोषणा गरे अनुरुप स्थानीय उद्योगी व्यवसायीहरु वन्दको प्रतिकारमा उत्रेका कारण झडप भएको प्रहरीले जनाएको छ ।
गोपाल भण्डारी, कपिलवस्तु
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
