समाचारआइतबार, आश्विन ३, २०७२
राष्ट्रपतिद्वारा नेपालको संविधान–२०७२ प्रारम्भ भएको घोषणा
संविधानसभाबाट पारित नेपालको संविधान–२०७२ राष्ट्रपति रामवरण यादवले प्रारम्भ भएको घोषणा गरेका छन् ।
विशेष समारोहमा रुपन्तारित संविधानसभा बैठकमा राष्ट्रपति रामवरण यादवले ३ असोज साँझ नयाँ संविधान जारी भएको घोषणा गरेका हुन् । यो संविधान ३ असोजबाटै लागू हुनेछ ।
संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशी प्रतिनिधित्व जस्ता २०६३ को अन्तरिम संविधानमा उल्लेख भएका व्यवस्थालाई संस्थागत गरेको नयाँ संविधान लागू भएसँगै नेपालको अन्तरिम संविधान खारेज हुनेछ ।
संघीयतामा प्रदेश लगायतका संरचना निर्माण र कार्यान्वयनका लागि केही वर्ष लाग्ने भए पनि संविधान जारी भएको एक महिनाभित्रै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख जस्ता प्रमुख पदहरुमा भने नयाँ निर्वाचन हुनेछ ।
सर्वप्रथम २००७ सालको ‘नेपालको अन्तरिम शासन विधान’ ले कल्पना गरेको संविधानसभाबाट संविधान बनाउने व्यवस्था त्यसको ६५ वर्षपछि पूरा भएको छ ।
नेपालमा पहिलो संविधान राणा प्रधानमन्त्री पद्म शमशेरले २००४ मा ल्याएका थिए ।
त्यसयताको करीब ६८ वर्षमा यो सहित सातौं संविधान प्रचलनमा आएका छन् ।
यसअघिका ६ मध्ये मौलिक हकका विस्तार, संवैधानिक आयोगहरुको थप, समावेशी प्रतिनिधित्व लगायतका विषयमा यो संविधानले प्रगतिशिल व्यवस्थाहरु गरेको छ ।