समाचारआइतबार, आश्विन ३, २०७२
सीमा क्षेत्रमा भएको हिंसाप्रति ध्यानाकर्षण भएको छः भारत
नेपालमा संविधान प्रारम्भ भएको घोषणा हुँदै गर्दा भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारतसँग सीमा जोडिएका क्षेत्रमा हिंसा बढेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा ‘नेपालमा संविधान घोषणा भएकोतर्फ हामीले ध्यान दिएका छौं’ भन्दै समस्याको समाधान हिंसारहित वातावरणमा वार्तामार्फत गर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा संविधानले सद्भाव, प्रगति र विकासको जग बसाल्ने भन्दै नेपाली जनताप्रति शुभकामना पनि व्यक्त गरिएको छ ।
विज्ञप्तिको पूर्णपाठ (भावानुवाद)
नेपालको संविधान निर्माणको प्रक्रियाभर नै भारतले संघीय, लोकतान्त्रिक, गणतान्त्रिक र समावेशी संविधानको समर्थन गर्दै आएको हो ।
आज नेपालमा संविधान घोषणा भएकोतर्फ ध्यान दिएका छौं । भारतसँग सीमा जोडिएका नेपालका केही भागमा भएको हिंसाप्रति हाम्रो ध्यानकर्षण भएको छ । काठमाडौंमा रहेका हाम्रा राजदूतले यसबारे नेपालका प्रधानमन्त्रीसँग कुरा गर्नु भएको छ । हामी त्यहाँको समस्या शान्तिपूर्ण, हिंसारहित वातावरणमा वार्ताद्वारा समाधान गर्न आग्रह गर्दछौं र संविधान व्यापक सहमति र स्वामित्वमा संस्थागत होस् भन्ने चाहन्छौं । यसले नै नेपालमा सद्भाव, प्रगति र विकासको जग बसाल्नेछ ।
हामी नेपाली जनताप्रति शुभकामना व्यक्त गर्दछौं ।