समाचारसोमबार, आश्विन ४, २०७२
प्रम कोइराला बुधबार न्युयोर्क जाँदै
प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन ६ असोजमा न्युयोर्क प्रस्थान गर्दैछन् ।
प्रधानमन्त्री कोइरालाले महासभालाई १४ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । ११ देखि १८ असोजसम्म हुने संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभालाई सदस्य राष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखले सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री कोइरालाबाट संयुक्त राष्ट्रको महासभालाई सम्बोधन हुन लागेको यो दोस्रोपटक हो । उनले यस अघिको ६९औँ महासभालाई सम्बोधन गरेका थिए ।
यस वर्ष राष्ट्रसङ्घ स्थापनाको ७० वर्ष पुगेको छ भने नेपालले राष्ट्रसङ्घमा प्रवेश पाएको ६०औँ वर्ष गाँठ मनाउँदै छ ।
प्रधानमन्त्री कोइरालाले महासभामा सम्बोधन गर्नुअघि असोज ८ देखि १० गतेसम्ममा आयोजना हुने सन् २०१५ पछिको विकास लक्ष्य घोषणा गरी पारित गर्ने राष्ट्रसङ्घीय शिखर सम्मेलनमा भाग लिनेछन् ।
महासभाकै क्रममा अमेरिकी राष्ट्रपति वाराक ओवामा र संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले विश्वमा द्वन्द्वरत मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउने मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सम्मिलित उच्चस्तरीय शान्ति सम्मेलनमा पनि प्रधानमन्त्री कोइराला सहभागी हुनेछन् ।
चीनका राष्ट्रपति सि जिनपिङ्ग र युएन वुमनले आयोजना गर्ने ‘लैङ्गिक समानता तथा महिला सशक्तीकरणः कार्यान्वयनमा प्रतिबद्धता’सम्बन्धी विश्वका नेतासँगको बैठकमा पनि प्रधानमन्त्री कोइरालाले भाग लिने कार्यक्रम छ ।
त्यस्तै चीनका राष्ट्रपति सि जिनपिङ्ग र महासचिव वानले आयोजना गर्ने ‘सन् २०१५ पछिको विकास रुपरेखासम्बन्धी दक्षिण–दक्षिण सहयोग उच्चस्तरीय गोलमेच’ कार्यक्रममा पनि प्रधानमन्त्री कोइरालाको सहभागिता रहनेछ ।
नेपालले जनवायु परिवर्तन, आतङ्कवाद र अल्पविकसित तथा भूपरिवेष्ठित मुलुकका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको छ ।
महासभाका क्रममा न्युयोर्कमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीको बैठक आयोजना हुने परराष्ट्र मन्त्रालयबाट थाहा भएको छ । नेपालले १८औँ शिखर सम्मेलनपछि सार्कको अध्यक्षता गरिरहेको छ ।
यसैबीच संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७० औं वर्षगाँठ र नेपाल राष्ट्र सङ्घको सदस्य भएको ६० वर्ष पुगेका बेला हुने यसपटकको महासभामा नेपालको सहभागिता महत्वपूर्ण रहने परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए ।
प्रधानमन्त्री कोइरालासाथ परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराई लगायत १८ सदस्यीय टोली रहनेछ ।