समाचारसोमबार, आश्विन ४, २०७२

संविधान बारेमा जानकारी गराउन कांग्रेस जनतामा जाने

हिमालखबर

flag-of-nepali-congress1नयाँ संविधानमा भएका सबै विषयको यथार्थ जानकारी गराउन प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस जनतामा जाने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ असोजमा भएको कांग्रेस केन्द्रीय समितिको बैठकले जारी भएको नयाँ संविधानका उपलब्धिलाई जनस्तरसम्म पुर्‍याउन सकेमात्र संविधानको कार्यान्वयन सफल हुने ठहर गरेको हो ।

कांग्रेसले संविधानका सकारात्मक उपलब्धि जनसमक्ष जानकारी गराउन सबै दलले पहल गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

असन्तुष्टका स्वर सुनिएका क्षेत्रमा संविधानका बारेमा यथार्थ बोध नभएको हुनसक्ने भन्दै कांग्रेसले संविधानमा भएका समावेशी हकअधिकारका बारेमा जानकारी गराउने निर्णय गरेको छ ।

सहमति, सहकार्य, एकता र मेलमिलापबाट समस्त असन्तुष्ट पक्षलाई पनि सम्बोधन गर्नका लागि पहल गर्ने र नेतृत्व लिने कांग्रेसले निर्णय गरेको छ ।

त्यस्तै २००७ सालमा जनतामा उद्घोष गरेको संविधानसभाबाट संविधान बनाउने कार्य ६५ वर्षपछि कांग्रेसकै नेतृत्वमा सफल भएको भन्दै यस प्रयत्नका लागि पार्टीको नेतृत्व तह र सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालालाई विशेष धन्यवाद ज्ञापन गर्ने पनि केन्द्रीय समितिले निर्णय गरेको छ ।

कंग्रेसले संविधान निर्माणमा समन्वय भूमिकासहित अहोरात्र खटेका सबै पार्टीका नेतृत्व तह तथा सभासद्, जनता, सञ्चारकर्मीलगायत सबैलाई धन्यवाद दिएको छ ।

साथै सधैँभरि सबैलाई समेट्न प्रेरित गर्ने तथा सुझाव र सल्लाह दिने राष्ट्रपति डा रामवरण यादव, सबै पार्टीलाई एकसाथ ल्याउन र समग्र प्रक्रियामा सफल भएका सभामुख सुवास नेम्बाङलाई पनि धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको प्रवक्ता बडूले बताए ।

संविधानको प्रावधानअनुसार कांग्रेसले अबको ६ महिनाभित्र उपयुक्त समयमा महाधिवेशन गर्ने गरी मिति तोक्ने र त्यस विषयमा ५ असोजमा निर्वाचन आयोगमा जानकारी गराउने निर्णय गरेको प्रवक्ता बडूले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>