समाचारसोमबार, आश्विन ४, २०७२
हामी कसैका एसम्यान होइनौंः दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले छिमेकी मुलुकहरुलाई नेपालको स्वतन्त्रता र नेपाली जनताको निर्णयलाई सम्मान गर्न आग्रह गरेका छन् ।
४ असोजमा काठमाडौंको टुँडिखेलमा आयोजित आमसभालाई सम्बोधन गर्दै दाहालले नेपालले भारतका जायज चासो र चिन्तालई सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै भने, “भारतले पनि नेपालका जायज चिन्ता र चासोलाई सम्बोधन गर्नुपर्छ।” उनले थपे, “हामी तपाइँहरुको मित्र बन्न चाहन्छौं, एसम्यान होइन ।”
अर्काको देशको स्वतन्त्रतालाई सम्मान गर्नेले मात्रै आफ्नो देशको स्वतन्त्रतालाई सम्मान गर्न सक्ने दाहालको भनाई थियो ।
मधेशका सबैमाग पूरा
उनले मधेशका सीमाङ्कनबाहेकका सबै माग पूरा भएको र बाँकी असन्तुष्टिहरु भए ति पनि वार्ताबाटै समाधान हुने बताए ।
मधेशी समुदायले उठाएको नागरिकताको मुद्दा सँधैका लागि समाधान भएको, समावेशी समानुपातिक प्रतिनिधित्वको विषय पनि संविधानमा सुनिश्चित भएको भन्दै दाहालले पहिचानको आधारमा सप्तरीदेखि पर्सासम्मको एउटा प्रदेश बनाइएको बताए ।
उनले भने, “अरु कुनै पनि जाति वा समुदायको पहिचान स्थापित हुने गरी प्रदेश विभाजन भएको छैन ।” दाहालले थपे, “म मधेशी जनसमुदायलाई अपील गर्न चाहन्छु तपाइँहरुका धेरै माग सम्बोधित भएका छन्, सीमाङकनको विषय पनि वार्ताबाट समाधान हुनसक्छ, आउनुहोस शान्तिपूर्ण वार्ता र छलफल गरौं ।”
त्यसैगरी उनले थारु र जनजाति समुदायका असन्तुष्टिहरुलाई पनि वार्ताद्वारा नै समाधान गरिने भन्दै नयाँ संविधानको सफल कार्यान्वयनमा सबैलाई सहभागी हुन आग्रह गरे ।
चुनौति
दाहालले संविधान निर्माणका बेलाको चुनौति जस्तै कार्यान्वयनमा पनि चुनौति आउने बताए । भने, “केही मानिसहरुलाई संविधानसभाबाट संविधान बनाउने विधि र प्रक्रिया मन परेको थिएन, उनीहरुलाई संघीयता र लोकतान्त्रिक गणतन्त्र पनि मन परेको थिएन । उनीहरु संविधान निर्माणका क्रममा चुनौति थिए र कार्यान्वयनमा पनि चुनौति हुनेछन् ।”
दाहालले तमाम चुनौतिको सामना गरी अहिलेको अवस्थासम्म आइपुगेको र आगामी दिनमा पनि दलहरुबीच एकता कायम गरी चुनौतिको सामना गर्नुपर्नेमा जोड दिए ।