समाचारसोमबार, आश्विन ४, २०७२
संविधानको स्वागत समारोह भट्टराई समूहद्वारा बहिष्कार
संविधानको स्वागतमा गोरखा बजारमा निकालिएको सद्भाव र्याली तथा संयुक्त सभा कार्यक्रम एमाओवादी नेता बाबुराम भट्टराई पक्षधरले बहिष्कार गरेका छन् ।
हजारौँको सहभागितामा हरमटारीदेखि बसपार्कसम्म भएको र्यालीमा बाबुराम भट्टराई समूहका जिल्लास्थित नेता, कार्यकर्ता सहभागी भएनन् ।
एमाओवादी भट्टराई समूहका गोरखा अध्यक्ष भनिएका यानप्रसाद भट्ट देउरालीस्थित गाविसस्तरीय संयन्त्रले आयोजना गरेको एक कार्यक्रममा व्यस्त थिए भने उपाध्यक्ष ज्ञानेन्द्र कुमाल र सचिव रमेश पोखरेललगायत नेता, कार्यकर्ता पनि र्यालीमा सहभागी भएनन् ।
उपाध्यक्ष कुमाल काठमाडौँमा रहेको दाबी गर्दै सचिव पोखरेलले फुर्सद नभएकाले कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया दिए ।
कार्यक्रममा नजानु भन्ने केन्द्रीय निर्देशन नभएको दाबी गर्दै पोखरेलले एक थान संविधान आउँदैमा खुशी हुने, रमाउने, तामझाम गर्नुको अर्थ नरहेको बताए ।
काठमाडौंको टुँडिखेलमा तीन दलका शीर्ष नेताले सम्बोधन गरेको कार्यक्रममा पनि भट्टराई लगायत उनी पक्षका नेताहरुको उपस्थिति थिएन ।
गोरखा एमाओवादीमा दाहाल समूह र भट्टराई समूहको छुट्टाछुट्टै पार्टी कार्यालय सञ्चालनमा छ ।
गतवर्षदेखि एमाओवादी भट्टराई समूहले समानान्तर जिल्ला कमिटी गठन गरी छुट्टै कार्यालय सञ्चालनमा ल्याएको हो ।
जिल्ला कमिटी, तीन क्षेत्रमा क्षेत्रीय कमिटीका साथै गाउँ–गाउँमा पनि समानान्तरक गाउँ कमिटी गठन गरिसकेको छ ।
गाउँका जनता शहरमा
गोरखाको गाउँ–गाउँदेखि मानिसहरु संविधान जारी भएको खुसियालीमा सहर आएका छन् ।
विभिन्न वेशभूषामा सजिएर उनीहरु सदरमुकाम आई सद्भाव र्याली तथा संयुक्त सभामा सहभागी भएका हुन् ।
हिमालपारिका सात गाविसबाहेक अन्य गाविस र दुई नगरपालिकाका विभिन्न वडाका मानिसहरु सदरमुकाम आएका छन् ।
र्यालीमा भजन समूह, महिला समूह, खेलाडीहरु, राजनीतिक दलका कार्यकर्ताहरु, बह्मकुमारी ईश्वरीय विश्वविद्यालयका विद्यार्थी, राजनीतिक दलका भ्रातृ सङ्घ सङ्गठन, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकारलगायत सहभागी भएका छन् ।
रासस