समाचारसोमबार, आश्विन ४, २०७२

कलैया: मोर्चाद्वारा थप सभासदको घरमा आगजनी र तोडफोड

हिमालखबर

बाराको कलैयामा आगजनी र तोडफोडमा उत्रिएका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच  झडप भएपछि स्थिति तनावग्रस्त भएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ । झडपका क्रममा प्रहरीले हानेको लाठीले लागेर तमलोपाका केन्द्रीय सदस्य जितेन्द्र सिंह र कार्यकर्ता मोहन साह घाईते भएको तमलोपा बाराका प्रवक्ता अरुण सिंहले जानकारी दिए ।

कलैया–५ पन्नाबागस्थित नेकपा एमालेको जिल्ला कार्यालय र कलैया–६ मोतिबाग पानीटंकीमा रहेको नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय जलाउन पुगेका आन्दोलनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो ।

त्यसैक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

यसअघि मोर्चाका कार्यकर्ताहरु नेपाली कांग्रेस बाराका सभापति एवं सभासद राधेचन्द्र यादवको घरमा तोडफोड गरेका छन् । कलैयाको भरतचोकमा रहेको सभासद यादवको घरमा प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् ।

उनीहरुले सभासदको घरमा रहेको सामाग्री बाहिर निकालेर आगजनी समेत गरेका छन् ।

त्यस्तै आन्दोलनकारीहरुले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद फरमुल्लाह मन्सुरको घरमा समेत तोडफोड गरेका छन् । कलैया ७ घुसुकपुरस्थित मन्सुरको घरमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।

मन्सुरको घरको ताल्चा फोडेर प्रदर्शनकारीहरुले घर भित्र रहेको फर्नीचर लगायतका सामाग्री निकालेर जलाई दिएका छन् ।

आन्दोलनकारीहरुले घरमा रहेका फर्निचर, टिभि लगायका समान बाहिर निकालेर जलाएका छन् । प्रदर्शनकारीले हानेको ढुङ्गाले लागेर मन्सुरको घरको शिशा समेत फुटेको छ ।

त्यस्तै सांसद लालबाबु सिंहको घरमा तोडफोड भएको छ ।

प्रदर्शनकारीहरुले कलैयामा रहेका मालपोत, नापी, भूमिसुधार सहितका बिभिन्न कार्यालयमा पनि तोडफोड भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय, भूसंरक्षण र नगरपालिका लगायत केहि सरकारी कार्यालयमा आगजनी समेत भएको छ ।

सञ्चारकर्मीहरु माथि दुर्व्यबहार
बारामा प्रर्दशनकारीहरुले सञ्चारकर्मीहरु माथि समेत दुर्व्यबहार गरेका छन् । नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव जय नारायण यादव, गोरखापत्रका बारा संवाददाता शिव शंकर मिश्र तथा एभिन्युजका बारा संवाददाता भैयाराम साहमाथि दुर्व्यबहार गरेका हुन् ।

उनीहरुले कलैयाको भरत चोकमा समाचार संकलनका लागि जाँदा हातपात गरेको पत्रकार जय नारायण यादवले जानकारी दिए ।
यसैबीच नेपाल पत्रकार महासंघ बारा शाखाले समाचार संकलनका लागि गएका सञ्चारकर्मी प्रति दुव्र्यबहार गरिएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायले ४ असोजमै विज्ञप्ती निकालेर आन्दोलनरत पक्षलाई समाचार संकलनको वातावरण बनाउन आग्रह गरेका छन् ।

सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>