समाचारमंगलबार, आश्विन ५, २०७२
वीरगञ्जमा राति १० बजेसम्मका लागि कर्फ्यू हट्यो, मोर्चाको प्रदर्शन कायमै
स्थानीय प्रशासनले ५ असोज दिनभरका लागि कर्फ्यू हटाए पनि लामो समयको बन्द र कर्फ्यूबाट आजित भएका स्थानीयले राहतको अनुभव गर्न पाएका छैनन् ।
१४ भदौदेखि लगातार लाग्दै आएकोे कफ्र्यु स्थानीय प्रशासनले ५ असोज विहान ६ बजेदेखि राति १० बजेसम्मका लागि हटाएको हो । तर, आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि प्रदर्शन गरेपछि वीरगञ्जको जनजीवन सामान्य बन्न सकेको छैनन् ।
वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, मुर्ली लगायत क्षेत्रमा प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
दङ्गाग्रस्त क्षेत्र घोषित वीरगन्जमा प्रदर्शमा उत्रेका मोर्चाका कार्यकर्तालाई प्रहरीले लखेट्ने र केही बेरपछि फेरि उनीहरु जम्मा हुने क्रम विहानदेखि नै जारी छ ।
१६ घण्टाका लागि कर्फ्यू हटाइएको भए पनि राति १० बजे पछि भने फेरि कफ्र्यु जारी रहने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी गराए ।
एक महिनाभन्दा बढीको बन्दहडतालमा तीन सातादेखि निरन्तर कफ्र्यू ले मध्यतराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ ।
सुरेश बिडारी, वीरगञ्ज