समाचारमंगलबार, आश्विन ५, २०७२
प्रजातान्त्रिक अभ्यासलाई स्वीकार्नुपर्छ: कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधानलाई प्रजातान्त्रिक मूल्य तथा मान्यताका आधारमा आफ्नो पार्टीले स्वीकारेको बताएका छन् ।
पार्टीको मध्यामञ्चल क्षेत्रीय भेलालाई ५ असोजमा सम्बोधन गर्दै थापाले संविधानका अन्तरवस्तुमा भने पार्टीको गम्भीर असहमति रहेको भएपनि विधि र प्रक्रियाबाट आएको संविधानलाई प्रजातान्त्रिक अभ्यासमा स्वीकार्नुपर्नेमा जोड दिए ।
अध्यक्ष थापाले पार्टीको कार्यसूचीको औचित्य अझै समाप्त नभएको बताउँदै एउटा खेल हार्दैमा मैदान छाड्न नहुने र अर्को खेलमा विजय प्राप्त गर्नका लागि कार्यकर्तालाई निरुत्साहित नहुन आग्रह गरे ।
उनले मधेशमा देखिएको विभिन्न समस्या तथा आन्दोलनलाई चाँडो वार्ताबाट समाधान गर्न सरकारलाई आग्रह गर्दै आन्दोलनकारी शक्तिले पनि सम्भव भएका जायज माग पूरा गराउन तत्परता देखाएर सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गरे ।
पार्टीका सहअध्यक्ष केशरबहादुर विष्ट, उपाध्यक्ष टङ्क ढकाल, सभासद् विक्रम गिरीलगायतले शक्ति सन्तुलनको दस्तावेजका रुपमा रहेको नयाँ संविधानलाई संशोधनका माध्यमबाट पार्टीका कार्यसूची पारित गराउन पार्टीले देशव्यापीरुपमा सशक्त कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
