समाचारमंगलबार, आश्विन ५, २०७२

रक्सौल नाकाबाट ३१ वटा ट्याङकर नेपाल भित्रिए

हिमालखबर

-सुरेश बिडारी, वीरगञ्ज

फाइल तस्वीर

फाइल तस्वीर

सीमावर्ती भारतीय बजार रक्सौलमा रोकिएको भनिएका पेट्रोलियम पदार्थ बोकेका ३१ वटा ट्याङकर ५ असोज साँझ नेपाल भित्रिएका छन् ।

नेपाल आयल निगमको क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख भानुभक्त खनालले ४ असोजमा लोड भएका पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरु ५ असोजमा नेपाल आइपुगेको बताउँदै थपे, “भारतीय आयल निगमले प्राविधिक कारणले रोकिएको भन्ने जानकारी दिएको थियोे । साँझ ट्याङकरहरु वीरगञ्ज भन्सारमा प्रवेश गरिसकेका छन् । राति स्कर्टिङमा वीरगञ्जबाट बाहिरिन्छ । त्यस्तो कुनै समस्या छैन् ।”

उनका अनुसार रक्सौल डिपोबाट २३ वटा र बरौनी डिपोबाट छुटेका ८ वटा ट्याङ्कर नेपाल प्रवेश गरिसकेका छन् ।

५ असोज साँझ ३१ वटा पेट्रोलियम पदार्थ बोकेका ट्याङकर नेपाल प्रवेश गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुशील शर्माले पनि पुष्टि गरे ।

५ सातादेखि तराई मधेशमा जारी आन्दोलनका कारण ढुवानी व्यवसाय असुरक्षित भएको भन्दै भारतीय विदेशमन्त्रालयले विज्ञप्ति जारी गरेपछि ४ असोज दिउँसोदेखि नै पेट्रोलियम पदार्थको आयातमा अवरोध देखिएको थियो ।

अमलेखगन्ज डिपोका प्रमुख खनालले दिनभरी भारतले पेट्रोल ढुवानी ठप्प पारेको भनेर चाहिने भन्दा बढी हल्ला भएको समेत बताए । “दिनभर त्रास फैलाउने काम भयो, अमलेखगञ्जमा तेल स्टक हुँदा हुँदैपनि काठमाडौंमा अभाव भयो ,” उनले भने “तेल आयातमा कुनै अवरोध नहुने भारतीय पक्षले जनानकारी दिएको छ । भोलि, ६ असोजमा फुल लोड दिन्छु भनेको छ ।” फुल लोडमा २५ सय किलोलिटर तेल हुन्छ ।

पेट्रोलियम पदार्थ बोकेका ट्याङकर रोकिएपछि समस्या समाधानका लागि ५ असोजमा वीरगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख लोकराज पन्त र सूचना अधिकृत शर्मा रक्सौल पुगेका थिए ।

उनीहरुले भारतीय भन्सार कार्यालयका प्रमुख कमलेश कुमारसँग भेटघाट गरेर समस्याको बारेमा जानकारी समेत लिएका थिए ।

पेट्रोलियम ढुवानी व्यवसायी संघका सुरेन्द्र श्रीवास्तवले यसअघि पनि असुरक्षाका कारण देखाउँदै केहि भारतीय ड्राईभरहरु नेपाल आउन नमान्ने गरेको पनि बताए ।

यसअघि भारतीय पक्षले भन्सार क्लियरिङ एजेन्टले जाँचपाँसका लागि कागजात पेश नगरेकाले इन्धन निर्यात हुन नसकेको प्रतिक्रिया दिएको थियो ।

अधिकारीहरुका अनुसार माथिबाट कुनै दबाब नआएको बताउँदै भारतीय भन्सारका अधिकारीहरुले क्लियरिङ एजेन्टले नै कागजात पेश नगरेकोले समस्या भएको दावी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>