समाचारबुधबार, आश्विन ६, २०७२

प्रधानमन्त्री कोइरालाको न्यूयोर्क भ्रमण रद्द हुन सक्ने

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाको न्यूयोर्क भ्रमण रद्द हुने संभावना बढेको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईका अनुसार देशको विषम परिस्थितिका कारण प्रधानमन्त्री कोइराला न्यूयोर्क नजाने ‘मुड’मा देखिएका छन् ।

“अन्य प्रमुख दलका नेताहरुसँग छलफलमै उहाँको अमेरिका भ्रमण तय भएको थियो, तर अहिलेको परिस्थितिमा नजाने कि भन्ने देखिएको छ, केही बेरमै निर्णय हुन्छ,” भट्टराईले हिमालखबरसँग भने ।

संयुक्त राष्ट्र संघको ७०औं महासभामा भाग लिन प्रधानमन्त्री कोइराला १८ सदस्यीय टोलीको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम थियो ।
संविधान जारी भएपछि मुलुकका केही भागमा देखिएको असहज परिस्थिति र छिमेकी भारतको पछिल्लो असन्तुष्टिका कारण पनि प्रधानमन्त्रीको भ्रमण स्थगित हुने संभावना बढेकोे हो ।

आजै विहान दिल्लीबाट काठमाडौं उत्रिएका नेपालका लागि भारतीय राजदूत रणजीत रे पनि विमानस्थलबाट सोझै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । संभवतः उनीसँगको कुराकानी पछि प्रधानमन्त्रीको भ्रमणबारे निश्चित टुंगो लाग्ने छ ।

अमेरिका भ्रमणकै क्रममा प्रधानमन्त्री कोइरालाले छिमेकी मुलुकका राष्ट्र सरकार प्रमुखहरुसँग छलफल गर्ने र स्वास्थ्य परीक्षण गर्ने पनि कार्यक्रम तय भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>