समाचारबुधबार, आश्विन ६, २०७२
बर्दियाः सार्वजनिक यातायात सञ्चालन
बर्दियामा बन्दले गर्दा लामोसमयदेखि अवरुद्ध सदरमुकाम गुलरियादेखि नेपालगञ्ज र अन्य जिल्लाकोे यातायात सञ्चालमा आएको छ ।
४४ दिन लामो लगातारको बन्दले यातायात व्यवसायी, मजदुर र सर्वसाधारण मारमा परेको भन्दै जिल्लाको कृष्णसार यातायात व्यवसायी समितिले बन्दको अवज्ञा गर्दै ५ असोज रातिदेखि यातायात सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
यसअघि बन्दका बाबजुद पनि राजमार्ग क्षेत्रका बजारमा स्थानीय र लामोदुरीको यातायात सञ्चालन भए पनि सदरमुकाम गुलरीया र राजापुर क्षेत्रमा सार्वजनिक यातायात चल्न सकेको थिएन ।
अहिले पनि गुलरीयाबाट नेपालगञ्जलगायत जिल्लाबाहिरका अन्य स्थानमा जाने यातायात सञ्चालन भए पनि गुलरिया–राजापुर र भुरिगाउँ–गुलरिया यातायात सञ्चालन हुन सकेको छैन ।
गुलरीया–नेपालगञ्ज, गुलरीया–काठमाडौं बस सञ्चालन हुँदा केही ठाउँमा बन्दकर्ताले सामान्य अवरोध गरे पनि प्रहरीले सुरक्षा दिएर यातायात सुचारु गराएको छ ।
लामो समयको बन्दले सबैलाई असुविधा भएको भन्दै यातायात सञ्चालनका लागि आन्दोलनरत पक्षसँग कुरा गर्दा यातायात सञ्चालन गराउन अस्वीकार गरेपछि स्वतःस्फूर्त रुपमा यातायात सञ्चालन गरिएको कृष्णसार यातायात व्यवसायी सङ्घ बर्दियाका अध्यक्ष शम्भुप्रसाद रिजालले बताए ।
लामो दूरीका २४ बससहित जम्मा १५० गाडी रहेको कृष्णसार बस व्यवसायी समितिले ४४ दिनको बन्दबाट झन्डै ६ करोड बढी घाटा भएको जनाएको छ ।
बैंकको ब्याज र किस्ताको यातायात व्यवसायीका पीडा र मजदुरको रोजीरोटी बन्देज भएको भन्दै अध्यक्ष रिजालले अब जस्तोसुकै अवस्था आए पनि गाडी नरोक्ने बताएका छन् ।
“संविधान घोषणा नहुँदासम्म हामीले आन्दोलनरत पक्षलाई सहयोग ग¥यौँ अब हामीलाई सहयोग गर्नुपर्दछ”, अध्यक्ष रिजालले भने, “यातायातका साधनलाई स्वतन्त्र र शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहयोग गरिदिन आन्दोलनरत पार्टी र संस्थालाई अनुरोध गर्दछौँ ।”
कसैबाट गाडी तोडफोड भयो भने हामी पार्टी र संस्था भन्दैनौँ तोडफोड गर्ने व्यक्तिका विरुद्ध उत्रिने भन्दै अध्यक्ष रिजालले नजिकिँदै गरेको विजयादशमीमा यात्रुको समस्यालाई ध्यानमा राखी काठमाडौँमा अग्रिम टिकट बुकिङ गर्नुपर्ने भएकाले बाध्य भई यातायात खुलाएको बताए ।
भावुक योगी, बर्दिया
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
