समाचारबुधबार, आश्विन ६, २०७२
प्रधानमन्त्री अमेरिका नजाने, राजदूत रायले प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गरे
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने प्रधानमन्त्री सुशील कोइरालाको पूर्वनिर्धारित कार्यक्रम रद्द भएको छ ।
देशको वर्तमान अवस्थालाई ध्यानमा राखी प्रधानमन्त्री कोइराला महासभामा भाग लिन न्यूयोर्क जाने पूर्व निर्धारित कार्यक्रम रद्द भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।
“संविधान आउनु अघिदेखिनै मधेशमा आन्दोलन छ, मधेशी समुदायसँग संवाद गरी मिलाएर लैजाने प्रधानमन्त्रीको प्राथमिकता भएकाले उहाँले नजाने निर्णय गर्नुभयो ।”
मधेशमा हाल देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री कोइरालाले आज पनि विभिन्न चरणमा दलीय छलफल गर्ने भट्टराईले बताए ।
भारतीय राजदूत र प्रधामन्त्रीबीच भेट
प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्लो समय दुई देशबीच देखिएको असमझदारी र तिक्तताबारे परामर्श भएको सल्लाहकार भट्टराईले जानकारी दिए ।
राजदूत रायले दिल्लीबाट फर्केपछि त्यहाँ भएको भेटघाट र परामर्शबारे प्रधानमन्त्री कोइरालालाई ब्रिफिङ गरेको उनले बताए ।
“राजदूत राय दिल्लीबाट फर्केपछि दिल्लीमा भएको भेटघाटबारे प्रधानमन्त्रीलाई ब्रिफिङ् गर्नुभयो । वर्तमान सन्दर्भमा उहाँहरुबीच सकारात्मक कुराकानी भएको छ,”–भट्टराईले भने ।
दिल्लीको भेटघाट र परामर्शपछि राजदूत राय आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
