समाचारबुधबार, आश्विन ६, २०७२
छिमेकीले जे भन्यो त्यही मान्नुपर्छ भन्ने हुँदैनः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल सानो र गरीब भएपनि छिमेकीले भनेका सवै कुरा मान्न नसकिने बताएका छन् ।
सहाना प्रधान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, “नेपाल गरिब र सानो मुलुक भयो भन्दैमा छिमेकीले जे भन्यो त्यही मान्नुपर्छ भन्ने छैन ।”
उनले अङ्गीकृत नागरिकता भएका व्यक्तिलाई मुलुकको राष्ट्र प्रमुख वा सरकारको कार्यकारी पदमा जान पाउने व्यवस्था संविधानमा राख्न नसकिने बताए । उनले भने, “अमेरिकामा पनि अङ्गीकृत नागरिकलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री जस्ता पदमा जान नपाइने व्यवस्था भएकाले नेपालमा पनि सो व्यवस्था लागू हुन्छ ।”
ओलीले तराईका जनता भड्काउने काम भइरहेको जनाउँदै संविधान आफैंमा दाल–चामल बोकेर आउने चिज नभएकाले यसले अधिकार र समान अवसरको सिद्धान्त मात्र ल्याएको बताए ।
उनले भने, “आन्दोलनका नाममा अनावश्यक हिंसा निम्त्याएर दुई तिहाइ बहुमतबाट बनेको संविधानलाई नमान्नु लोकतन्त्रसम्मत हुँदैन ।”