समाचारशुक्रबार, आश्विन ८, २०७२

संसद् अधिवेशन आह्वान

हिमालखबर

राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा यही असोज १५ गते शुक्रबार दिउँसो १ बजे व्यवस्थापिका–संसद्को बैठक बस्ने गरी राष्ट्रपतिले अधिवेशन आह्वान गरेका हुन् ।

उक्त कुरा राष्ट्रपतिको कार्यालयले ८ असोजमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

—————————————————————————————————

नयाँ सरकार गठनको तयारी

फाइल तस्वीर

नयाँ संविधान जारी भएको चार दिनपछि संयुक्त सरकार गठनका लागि औपचारिक पहल शुरु भएको छ ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका नेता एवम् कानूनमन्त्री नरहरी आचार्यले सभामुख सुवासचन्द्र नेम्बाङलाई भेटेर संसद बैठक बोलाउनेबारे छलफल गरेका छन् ।

नयाँ संविधान अनुसार अब संसद बैठक शुरु भएको सात दिनमा नयाँ सरकार गठन गर्नुपर्ने छ ।

प्रधानमन्त्री कोइरालाको राजीनामा, संयुक्त सरकार गठन र नयाँ संविधानप्रति असन्तुष्टलाई समेट्नेबारे प्रमुख तीन दलहरुबीच आज मात्रै ३ पटक बैठक राखिएको छ ।

विहान र दिउँसोको बैठकले टुंगो नलागेका विषयमा अहिले साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल राखिएको छ ।

तीन दलबीचको सहमतिमा प्रधानमन्त्री कोइरालाले राजीनामा दिने र संयुक्त सरकार गठन गर्न शीर्ष नेताहरु सहमत छन् ।

नेपाली कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्रीले तीन दलबीचको सहमतिमा एक–दुई दिनमै राजीनामा तयारी छ ।

उनी भन्छन्, “तीन दलबीच कायम सहमति अनुसार नै नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले बाटो खोल्न सक्नुहुन्छ ।”

सत्तारुढ दल नेकपा एमालेले पनि आजै स्थायी कमिटीको बैठक राखेर सहमतीय राजनीतिबारे छलफल चलाएको छ ।
नेकपा एमालेका उपमहासचिव घनश्याम भूसाल भन्छन्, “प्रधानमन्त्रीलाई राजीनामाका लागि दबाब सृजना गर्ने होइन, सहमतिमै नयाँ सरकार गठन गर्ने वातावरण एमालेले बनाउँछ ।”

प्रमुख प्रतिपक्ष दल एमाओवादी पनि नयाँ सरकारमा सहभागी हुने उक्त पार्टीले निर्णय गरिसकेको छ ।

एमाओवादीका स्थायी कमिटी सदस्य अग्नी सापकोटा आन्दोलनरत दलहरुको राजनीतिक माग सम्बोधन गर्दै नयाँ सरकार गठनको छलफल शुरु हुने बताउँछन् ।

उनी भन्छन्, “संविधान जारी भएपछि नयाँ सरकार गठन गर्नु वैधानिक बाध्यता नै हो ।”

प्रधानमन्त्री सुशील कोइरालाले मन्त्री आचार्यलाई व्यवस्थापिका–संसद अधिवेशन बोलाउनेबारे सभामुख नेम्वाङसँग छलफलका लागि पठाएका थिए ।

संसद् अधिवेशन सकिएको र अर्काे अधिवेशन नबसेको अवस्थामा सरकार परिवर्तनका लागि सभामुख नेम्बाङसँग ७ भदौ विहान छलफल भएको नेम्वाङका स्वकीय सचिव बुद्धि खनालले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>