समाचारशनिबार, आश्विन ९, २०७२
नेपाल आउने गाडीको लाम फारबिसगञ्जसम्म, भारतले क्लियरेन्स दिएन
भारतीय भन्सारले सामान जाँच पास नगर्दा भारतबाट सामान लिएर नेपाल आउन लागेका सयौं मालबाहक सवारीसाधन भारतमा अलपत्र परेका छन् ।
विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरका अनुसार गत बुधबार, ६ असोजदेखि कुनै पनि मालबाहक सवारीसाधन भित्रिएका छैनन् ।
भारतीय भन्सार एजेन्टका कर्मचारीले विभिन्न बहाना बनाएर क्लियरेन्स नदिएको अध्यक्ष परासरको भनाइ छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले भने, “भारतीय पक्षले मालबाहक सवारी अवरोध नगरेको बताइरहेका छन् । तर बुधबार बिहानैदेखि मालबाहक सवारी नेपालतर्फ आएका छैनन् ।” बस्नेतका अनुसार भन्सार अवरुद्ध हुँदा दैनिक रु पाँच करोड १७ लाख राजस्व गुम्दै आएको छ ।
विराटनगर भन्सार नाकाबाट खाद्यान्न, तेल, कच्चा पदार्थ पेट्रोल, डिजेललगायतका दैनिक ३०० सम्म मालबाहक ट्रक र ट्याक्टर आउने गरेका छन् ।
नेपाल आउन पर्खेर बसेका झन्डै एक हजार ५०० मालबाहक सवारीसाधन भारतीय बजार जोगवनी हुँदै फारबिस गञ्जसम्म लाइन लागेको परासरले जानकारी दिए ।
चालीस दिनसम्मको बन्दमा पनि दैनिक १२५ सम्म मालबाहक सवारीसाधन आउने गरेको तर तीन दिनयता एउटासमेत मालबाहक सवारी नेपाल प्रवेश गर्न पाएको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
