समाचारशनिबार, आश्विन ९, २०७२

बाबुराम भट्टराईद्वारा पार्टी परित्याग

हिमालखबर

तस्वीर: गोपेन राई/हिमालखबर

तस्वीर: गोपेन राई/हिमालखबर

एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

९ असोजमा काठमाडौंमा पत्रकार सम्मेलन गरी भट्टराईले पार्टीको साधारण सदस्य समेत नरहने गरी सवै पदबाट राजीनामा गरेको घोषणा गर्दै राजीनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई समेत बुझाइसकेको जानकारी दिए ।

“यो सँगै म सांसद पनि रहनेछैन, त्यसैले सांसदबाट पनि राजीनामा गरिसकेको छु,” उनले भने ।
नयाँ संविधान निर्माणसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका भट्टराईले अब नयाँ शक्तिको आवश्यकता रहेको बताए ।

आफ्नो आगमी योजना बारे बताउँदै उनले सबैसँग छलफल गरी अघि बढने मात्रै बताए । भने, “पार्टी साधन हो साध्य होइन, अब साथीहरुसँग छलफल गरी अघि बढ्नेछु, अहिले म सामान्य नेपाली नागरिक मात्रै हुँ ।”

अर्को राजनीतिक पार्टी खोल्ने अहिलेको योजना नभएको र फेरि माओवादीमा फर्कने कुनै सम्भावना नरहेको उनले बताए । उनले अहिले आफू एक्लैले मात्रै पार्टी छोडेको पनि बताएका थिए ।

उनले मुलुकको स्वाधिनता, भौगोलिक अखण्डता, लोकतन्त्र र समानुपातिक सहभागिताका लागि आफू प्रतिवद्ध रहेको समेत बताए ।

त्यसैगरी भारतले नेपालको संविधानप्रति असन्तु्ष्टि प्रकट गरेकोमा आपत्ति जनाउँदै उनले यो नेपालको आन्तरिक मामिला भएको र कसैको हस्तक्षेप स्वीकार नगरिने बताएका थिए ।

पार्टी परित्यागको घोषण गर्न आयोजित पत्रकार सम्मेलनलाई बाबुराम भट्टराई आफैले भने ४० बर्षे राजनीतिक जीवनको अध्याय पूरा गरेको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलन भनेका थिए ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति पद सम्हालेर संविधान निर्माणको काममा सक्रिय भट्टराईले पछिल्लो समय विवादास्पाद अभिव्यक्ति दिंदै आएका थिए ।

संविधान जारी भएपछि पनि उनले ‘संविधान बन्दैमा दीपावली गर्नु जरुरी नभएको’ बताएका थिए ।

यद्यपी ९ असोजमा आयोजित पत्रकार सम्मेलनमा भने उनले भने, “७० बर्ष लामो जनताको चाहाना संविधानसभाबाट संविधान बन्नु खुशीको कुरा हो ।”

संविधानमा धेरै कुरा राम्रा र प्रगतिशील भए पनि मधेशी, महिला र दलितका केही माग छुटेका भन्दै उनले ‘दाँतमा ढुंगा लागेको’ टिप्पणी गरे ।

जेठ १५ गणतन्त्र घोषणाको भएको दिन र असार ३ संविधान जारी भएको दिन खुशीका दिन भएको उनले बताए ।

१२ बुँदे समझदारीबाट संवाद समितिसम्म पार्टीले आफूलाई महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त समेत गरेका भट्टराईले संविधानमा प्रत्यक्ष कार्यकारीको व्यवस्था हुन नसक्नुलाई ठूलो कमजोरी भने ।

उनले भने, “हामीले प्रत्यक्ष कार्यकारीलाई ग्रहण गर्न नसक्नु ठूलो कमजोरी भएको छ, तर पनि संविधनासभाबाट संविधान बन्नु अत्यन्त खुशीको कुरा हो ।”

यद्यपी भट्टराईले संविधान बन्नु मात्रै भन्दा पनि त्यसको कार्यान्वयन चूनौतीपूर्ण भन्दै असन्तुष्टका मागलाई सम्बोधन गर्न सकेमात्रै संविधान कार्यान्वयन हुने बताए ।

संविधान जारी भइसकेपछि भारतको असन्तुष्टितर्फ लक्षित गर्दै उनले भने, “त्यसैलाई लिएर दक्षिण छिमेकीले अनावश्यक ढंगले दबाब दिने र अघोषित नाकाबन्दी गर्ने सम्मको हर्कत गरेको छ, यो दुखद र निन्दनीय हो ।”

यहाँको संविधान कस्तो बन्ने यहाँको समस्या कसरी समाधान गर्ने यो हामी नेपाली आफैले निर्धारण गर्ने आन्तरिक मामिला भएको भट्टराईले भने ।

उनले भारतको ‘हर्कत’ को सबैले एकताबद्ध भएर विरोध गर्नुपर्ने भन्दै कूटनीतिकढंगले समस्याको हल गरिनुपर्ने बताए । अगाडि भने, “यसमा कसैले अनावश्यक दवाव दिन्छ भने त्यो स्वीकार्य हुन सक्दैन् ।”
कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>