समाचारशनिबार, आश्विन ९, २०७२
प्रधानमन्त्रीलाई थारु अगुवाले भने, ‘जातीय राज्य होइन, संरक्षण चाहियो’
प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस नेता एवम् सांसद अमरेशकुमार सिंहलाई कार्वाही गरिने बताएका छन् ।
९ असोजमा कैलालीको टीकापुर पुगेका प्रधानमन्त्री कोइरालाले स्थानीय अगुवाहरुले साम्प्रदायिक सद्भाव विथोल्न सिंहले उक्साएको भन्दै गुनासो गरेपछि उनलाई कारवाही गरिने बताएका हुन् ।
टीकापुरका थारु अगुवा एवम् नेताहरुले प्रधानमन्त्रीसँग नेता अमेरशकुमार सिंहले पार्टी नीति विपरित साम्प्रदायिक सदभाव विथोल्न उक्साएपछि टीकापुर घटना भएको भन्दै कार्वाहीको माग गरेका थिए ।
कैलालीको जोशीपुरका तेजराम चौधरी, थापापुरका टीकाराम चौधरी लगायतले साम्प्रदायिक सद्भाव विथोल्न खोज्नेलाई कार्वाही नगरेको भन्दै गुनासो गरेका थिए ।
उनीहरुले आफूहरुलाई जातीय राज्य नचाहिएको तर, संरक्षण र गरिखाने वातावरण चाहिएको भन्दै प्रधानमन्त्री समक्ष थारुहरुको संरक्षण गर्न माग गरेका थिए ।
टीकापुर घटनापछि टहरो जलाइएका पर्शुराम चौधरीले आफूलाई गरिखाने वातावरण चाहिएको र साम्प्रदायिक सद्भाव कायमै राखि सबैको संरक्षण र अधिकारको ग्यारेन्टी गर्न प्रधानमन्त्री समक्ष माग राखे ।
“हामीलाई संरक्षण दिनुपर्यो, गरिखाने वातावरण चाहियो, जातीय राज्य चाहिँदैन,” उनले भने ।
टीकापुर घटनालगत्तै जलाइएको चौधरीको टहरो नेपाली सेनाले पुनःनिर्माण गरिसकेको छ ।
प्रधानमन्त्री कोइरालाले आफ्नो आवश्यकता अमेरिकामा भन्दा आफ्नै देशमा भएको भन्दै संयुक्त राष्ट्र संघ महासभामा सहभागी हुने कार्यक्रम छोडेर टीकापुर आएको बताएका थिए ।
उनले भने, “मेरो आवश्यकता देशमै भएको महशुस गरें त्यसैले अमेरिका भ्रमण रद्द गरें ।”
उनले संविधान सबैको साझा भएकोले यसको कार्यान्वयनका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
भने,“संविधानमा सबैका धेरै माग समेटिएको छ, सबैका सबै माग पूरा गर्दा त संविधान नै नबन्ने अवश्था थियो । ”
अब मुलुकलाई शान्ति र विकास चाहिएकोमा प्रधानमन्त्रीले जोड दिए ।
थारु अगुवाहरुले प्रधानमन्त्रीसँग स्थानीय नेता रामजनम चौधरीलाई अनावश्यक महत्व दिएकाले उनले जातीय सद्भाव विथोल्न खोजेको आरोप लगाएका थिए ।
भेटमा सहभागी एक थारु नेताले भने, “तपाइँले नै रामजनमलाई उचाल्नु भएको हो, आजसम्म रामजनमले यहाँको विकासका लागि केही पनि गरेनन् बरु हामी बीच नै झगडा र फाटो पारे ।”
छलफलमा सहभागी वनमन्त्री महेश आचार्यले भारतले लगाएको नाकावन्दी कुटनीतिक तहबाटै समाधान गरिने बताएका थिए ।
टीकापुरको कार्यक्रमपछि प्रधानमन्त्री कोइराला रुपन्देही तर्फ लागेका छन् ।
दीर्घराज उपाध्याय, कैलालीबाट