समाचारशनिबार, आश्विन ९, २०७२

सर्वदलीय बैठकः एकजुट भएर चुनौतिको सामना गर्नुपर्छ

हिमालखबर

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय छलफलमा नेताहरुले सबै एकजुट भएर वर्तमान चुनौतिको सामना गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा व्यवस्थापिका–संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बसेको हो ।

भारतको नाकावन्दी र देशका केही भागमा जारी आन्दोनबारे साझा धारणा बनाउन ९ असोज साँझ आयोजित बैठकमा भारतले गरेको नाकावन्दी खुलाउन कुटनीतिक पहल गरिने नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए ।

उनले अहिले भारतले गरेको नाकाबन्दी आपत्तिजनक भएको भन्दै संकटको अवस्थामा सबै एक ढिक्का हुनु पर्ने पनि बताए ।

एमाले उपाध्यक्ष भीम रावलले सीमा क्षेत्रमा भारतले गरेको नाकावन्दी आपत्तिजनक भएको भन्दै त्यसको सामना गर्न सबै एक ढिक्का हुनुपर्ने बताए । उनले भने “भारतले स्वतन्त्र मुलुकको अस्मितामा चोट पु¥याउने काम गरेको छ, हामीहरु एक भएर चुनौतिको सामना गर्नुपर्छ ।”

एमाओवादी महासचिव कृष्णबहादुर महराले देशभित्रका जायज मागलाई सम्बोधन गर्नुपर्ने भन्दै त्यसका लागि आन्दोलनरत दलहरु पनि वार्तामा आउनुपर्ने बताए । उनले भने, “तर, संविधान नै निषेध गर्नेहरुलाई छुट दिन भने हुँदैन ।”

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले गर्नै नहुने काम गरेको भन्दै थपे, “पहिले संविधान नै रोक्न खोज्यो, अहिले कार्यान्वयन गर्न रोक लगाउँदैछ ।” उनले संविधान जारी गर्दा सबै एक ढिक्का भएजस्तै कार्यान्वयनका लागि सबै एक हुनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका नेता एवम् अर्थमन्त्री रामशरण महतले सबै दलबीच एक भएर चुनौति सामाना गर्ने समझदारी बनेको भन्दै भारतले अन्तर्राष्ट्रिय कानून अनुसार पनि नाकाबन्दी गर्न नमिल्ने बताए । “हामीले कुटनीतिक माध्यमबाट यो कुरा सशक्त रुपमा उठाउँछौं, सीमामा अवरोध गर्ने कुरालाई राजनीतिसँग जोड्न मिल्दैन,” महतले भने ।

बैठकमा २२ दल सहभागि भएको कांग्रेसका चीनकाजी श्रेष्डले जानकारी दिए ।

भारतका लागि नेपाली राजदूत दीपप्रकाश उपाध्याय पनि बैठकमा  सहभागी थिए ।
-कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>