समाचारआइतबार, आश्विन १०, २०७२
भारदहमा ७० भन्दा बढी सवारी साधन तोडफोड
मधेशी मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बिहान ७० भन्दा बढी सवारी साधनमा तोडफोड र ढुङ्गामुढा गरेका छन् ।
प्रहरी सुरक्षामा गन्तव्यतर्फ गइरहेका सवारी साधनमा मौका छोपेर मोर्चाका कार्यकर्ताले गरेको ढुङ्गामुढाबाट सवारी साधनमा रहेका अधिकांश यात्रु र चालक घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक शिशिरकुमार कर्माचार्यले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहस्थित कङ्कालिनी मन्दिर नजिक पुलमा एउटा मालबाहक ट्रक अचानक बिग्रेपछि एक्कासि आएका केही व्यक्तिहरुले ढुङ्गामुढा गर्दै सार्वजनिक सवारी साधनमा तोडफोड गरेको बताए ।
ढुङ्गामुढाबाट ट्रकका चालक झापाको काँकडभिट्टा– ९ बस्ने ३६ वर्षीय पदमबहादुर राई, मकवानपुरका २५ वर्षीय रामकुमार लौकचन र सप्तरी गम्हरिया प्रभाह– १ का गौतमकुमार यादव गम्भीर घाइते भएका छन् ।
घाइतेको टाउको र छातीमा गम्भीर चोट लागेको र उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अहिले भारदहको अवस्था तनाव ग्रस्त रहेकाले सो क्षेत्रमा थप प्रहरी परिचालन गरी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयमा तोडफोड
यसैबीच मोर्चाले सप्तरीको राजविराजमा रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयमा पनि तोडफोड गरेको छ ।
५०/६० जनाको समूहमा आएको प्रदर्शनकारीहरुले नारावाजी गर्दे कार्यालय भित्र पसेर तोडफोड गरेको कार्यालयले जनाएको छ ।
प्रदर्शनकारीहरुले कार्यालयमा रहेको केही महत्वपुर्ण कागजहरु समेत नष्ट गरेका छन् ।