समाचारआइतबार, आश्विन १०, २०७२
सीमा अवरोध गर्न खोज्ने दुई जना पक्राउ
काकडभिट्टाको नेपाल–भारत सीमा क्षेत्रमा पुगेर आवागमनमा अवरोध गर्न खोज्ने दुई प्रदर्शनकारीलाई प्रहरीले १० असोज दिउँसो पक्राउ गरेकोे छ ।
दिउँसो २ः३० बजे कोचिला ग्राबर फ्रन्टका केन्द्रीय कोषध्यक्ष सुन्दर राजबंशी र केन्द्रीय सदस्य त्रिलोचन राजबंशीलाई सीमा क्षेत्रमा आवागमन रोक्न खोज्दा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
सीमामा धर्ना बस्न खोज्ने उनीहरुको समूहका एकदर्जन युवा भने भागेर सीमापारी भारतको पानीटंकी पसेका छन् ।
काकडभिट्टा–पानीटंकी नाकामा भइरहेको छिटफुट आवागमन समेत रोक्न प्रयासगर्दा उनीहरु पक्राउ परेका हुन ।
भारतले अघोषित रुपमा गरिरहेको नाकाबन्दीका कारण मालबाहक सवारी अत्यन्तै कम आए पनि पैदल, रिक्सा र मोटरसाईकलमा आवतजावत यथावत रहेको अवस्थामा उनीहरु नाका ठप्प पार्न त्यहाँ जुटेका थिए ।
६ असोज अपराह्नदेखि भइरहेको अघोषित नाकाबन्दीका कारण भारतबाट नेपाल पस्न खोज्ने सयौं मालबाहक ट्रक, ट्यांकर र कन्टेनरलाई भारतीय सीमा सुरक्षा बलले भारतको पानीटंकी मै रोकेको छ ।
१० असोज अपराह्न ३ः३० बजेसम्म पानीटंकी नाकाबाट माछा, फलफूल र आलुका एकएकवटा र सिमेन्टको कच्चा पदार्थ क्लिंकरका तिनवटा समेत गरी ६ वटा ट्रक मात्र नेपाल छिर्न दिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।
गोपाल गडतौला, झापा