समाचारआइतबार, आश्विन १०, २०७२
प्रक्रिया नरोकिएपछि बाबुरामले पार्टी छोडेः दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधान जारी गर्ने क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई असन्तुष्ट बनेको बताएका छन् ।
१० असोजबाट शुरु भएको पूर्ण केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै दाहालले भट्टराईको घोषणाबाट आश्चर्यमा परेको बताए । उनले भने, “संविधानसभामा मतदान प्रक्रिया नरोकिएपछि असन्तुष्ट हुनुहुन्थ्यो, उहाँले त अस्वभाविक निर्णय नै लिनुभयो ।”
भट्टराईसँग आजै विहान टेलिफोनमा कुराकानी भएको जानकारी बैठकमा सुनाउँदै दाहालले भने, “विहान कुरा भयो, उहाँले सोचेरै निर्णय लिएको भन्नुभयो ।” दाहालले भारतीय विदेश सचिव एस.जयशंकरको अभिव्यक्ति असमान्य भएकाले संविधानसभामा मतदान प्रक्रिया रोक्ने स्थिति नबनेको बताए ।
दाहालले भने, “दुई जना पूर्वमन्त्री र पूर्वपरराष्ट्रमन्त्री भएको बैठकमा जसरी भारतीय सचिव प्रस्तुत भए, त्यो शब्दको वर्णन् पनि गर्न सकिन्न ।” २५ भदौमा भारतीय विदेश सचिवले दाहाल, भट्टराई र नारायणकाजी श्रेष्ठसँग संविधान निर्माणका विषयलाई लिएर भेट गरेका थिए ।
१० असोजबाट शुरु पूर्ण केन्द्रीय कमिटी बैठकमा नयाँ संविधानपछिको अवस्था, मधेशमा जारी आन्दोलन र भट्टराईको राजीनामाबारे छलफल हुँने अजेण्डा प्रस्तुत गरिएको छ ।
-कपिल भट्ट, काठमाडौं